आइतवार, माघ ६, २०८१
Sunday, January 19, 2025

स्काउटको ५७५ औँ आधारभूत तालिममा कुश्मा नगरपालिकाको अनुगमन

पर्वत : कुश्मा नगरपालिकाका शिक्षकहरूको लागि आयोजित स्काउट पाँच सय ७५ औँ आधारभूत तालिमको कुश्मा नगर कार्यपालिकाको कार्यालयबाट अनुगमन भएको छ ।
सोमबार नगर प्रमुख रामचन्द्र जोशी, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुप्रसाद तिवारी, शिक्षा अधिकृतद्धय दीपक सुवेदी र अर्जुन पौडेल, सूर्यप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामसुन्दर सापकोटा, कालीगण्डकी एकेडेमीका प्रिन्सिपल वसन्त कर्माचार्य, आदर्श अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल हिम बहादुर पौडेल क्षेत्री, शिवालय माध्यमिक विद्यालय कुश्माका शिक्षक गोविन्द पोखरेल लगायतले तालिम स्थलमा नै पुगेर तालिमको अवस्था र प्रभावकारिताका विषयमा अनुगमन गर्नुभएको हो ।
कुश्मा नगरपालिका–३ दुर्लुङमा रहेको काफलचौर माध्यमिक विद्यालयमा गत असार १५ गतेदेखि सुरु भई २० गतेसम्म सञ्चालन भएको तालिममा नगरपालिकाका विद्यालयका २८ जना शिक्षकहरूको सहभागिता छ । तालिमको अनुगमन गर्दै नेपाल स्काउट कुश्मा नगरपालिकाका प्रमुख संरक्षक तथा नगरप्रमुख रामचन्द्र जोशीले तालिम प्रभावकारी रूपमा सञ्चालन भइरहेको र शिक्षकहरुले उत्साहजनक रूपमा आधारभूत तालिम लिइरहेको बताउनुभयो । ‘स्काउट ट्रुप’ निर्माण गर्न इच्छुक रहेका विद्यालयका शिक्षकहरू तालिमबाट फर्किएपछि आफू अध्यापनरत विद्यालयमा विद्यार्थीहरूको ‘स्काउट ट्रुप’ गठन गर्ने र यसले विद्यालय र विद्यार्थीमा आत्मानुशासन सहित देशभक्तिको भावना विश्वास हुने उहाँको भनाई छ ।
यस्तै शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले सैद्धान्तिक र प्रयोगात्मक रूपमा सञ्चालन भइरहेको तालिममा शिक्षकहरुले सक्रियताका साथ भाग लिएको र यसले विद्यालयमा असल अभ्यासका लागि थप बल पुग्ने बताउनुभयो । विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासँग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउँदै बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउने, बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने लगायतका उद्देश्य स्काउटले लिएको उहाँको भनाई छ । नेपाल स्काउट कुश्मा नगरपालिकाका संयोजक इन्द्र प्रसाद शर्माले तालिम अन्तर्गतका विभिन्न अभ्यासका कामहरू बाँकी रहेको भन्दै निर्धारित समयमा नै प्याकेजमा समावेश भएको पाठ्यक्रम पूरा गरिने बताउनुभयो ।
अनुगमनका क्रममा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुसँग सहभागी तथा प्रशिक्षकहरुसँग अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो । सहभागीहरुका तर्फबाट आएका प्रश्न तथा जिज्ञासाहरुको सुनुवाई गर्दै जनप्रतिनिधि र कर्मचारीहरुले स्काउटको व्यवस्थापनका लागि आवश्यक काम पूरा गर्न नगरपालिकाको तर्फबाट पहल गरिने बताउनुभयो ।
तालिममा कोर्ष लिडरका रुपमा सागर पौडेल, क्वाटर मास्टर प्रशिक्षकको रुपमा सोनिश सुवाल, काउन्सीलर प्रशिक्षकमा राम श्रेष्ठ, सुविन तिमिल्सिना, अमृत पुन र अनिश श्रेष्ठ तथा रोभर सहयोगीमा सन्दीप न्यौपाने रहनुभएको छ।
नेपाल स्काउट नेपालको स्काउटिंग र गाइडिंग संस्था हो । यसको स्थापना विसं २००९ सालमा भएको हो । नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको हो ।
दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने, गराउने, सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्ने गराउने, समाजका हरेक वर्ग तथा समूहलाई शिक्षित पार्न प्रौढ शिक्षा लगायत विभिन्न कार्यक्रमहरू सञ्चालन, स्वास्थ्य, वातावरण, भू–संरक्षण तथा प्राकृतिक श्रोतको उपयोगसम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रम सञ्चालन गर्न युवा जनशक्ति परिचालन लगायतका उद्देश्य नेपाल स्काउटका रहेका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive