शनिबार, माघ २६, २०८१
Saturday, February 8, 2025

जलजलामा चार प्रकारका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले विभिन्न चार प्रकारका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सहितका कामहरू सुरु गरेको छ ।

गाउँपालिकामा रहेका दुई वटा एम्बुलेन्सलाई व्यवस्थित रूपमा सञ्चालन गर्न तथा तिनीहरूलाई गाउँपालिकामार्फत सञ्चालनमा ल्याउन लागिएको गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले बताए । गर्भवती तथा सुत्केरी, ज्येष्ठ नागरिक, विपन्न र अपाङ्गता भएकाहरूको लागि एम्बुलेन्स सेवा दिन सुरु गरिएको हो ।

सबै वडाका गर्भवती र सुत्केरीलाई घरदेखि अस्पतालसम्म आउजाउ गर्नुपर्ने, स्थानीय स्वास्थ्य संस्थाको सिफारिसमा बाहिरी जिल्लाका अस्पतालमा आउजाउ गर्नुपर्ने, ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आकस्मिक उपचारका लागि लैजानुपर्ने, घरमा आम्दानी गर्ने व्यक्ति नभएका विपन्न र गरिब तथा ‘क’ र ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएका गाउँपालिकावासीहरुले निःशुल्क एम्बुलेन्स सेवा पाउने छन् । उनीहरूले सम्बन्धित वडाध्यक्षको सिफारिसमा यो सेवा प्राप्त गर्नेछन् ।

‘उहाँहरू चार प्रकारका बाहेक आकस्मिक समस्यामा परेका अरू नागरिकलाई पनि समस्या परेको बेलामा हाम्रा एम्बुलेन्सहरूले सेवा प्रदान गर्नेछन् । कम्तीमा पनि नागरिक स्वस्थ हुनुपर्छ मान्यताका साथ यो काम थालेका हौँ’, गाउँपालिकाका अध्यक्ष आचार्य भन्छन्, ‘जसका लागि निःशुल्क एम्बुलेन्स भनेका छौँ उहाँँहरुले एक रुपैयाँ पनि तिर्नुपर्दैन । जनप्रतिनिधिको काम नागरिकको समस्यामा सँगै हुनु नै हो । हामी नागरिकमैत्री काममा प्रतिबद्ध छौँ ।’

एम्बुलेन्स सेवालाई व्यवस्थित रूपमा सञ्चालन गर्नको लागि ‘एम्बुलेन्स सञ्चालन समिति’ निर्माण गरेर आर्थिक खाता सहितको अधिकार दिन लागिएको छ । जलजला गाउँपालिकाको भूगोल, नागरिकको आर्थिक अवस्था लगायतका कारण निःशुल्क सेवा दिनुपर्नेहरु धेरै रहेको र त्यसले एम्बुलेन्स सञ्चालनमा बाधा पुग्ने भएकोले आर्थिक सहयोगको आह्वान सहित निःशुल्क सेवा सञ्चालन गरिने गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य बताउँछन् ।

गाउँपालिकाले प्रदान गरेको सेवामा सघाउने वा सहकार्य गर्न मन लागेमा त्यस्ता व्यक्ति वा संस्थाले ‘एम्बुलेन्स सञ्चालन समिति’ को खातामा आर्थिक सहयोग गर्न सक्ने उनको भनाइ छ । नागरिकको आर्थिक अवस्था कमजोर रहँदा धेरैलाई निःशुल्क बोक्नुपर्ने, गाउँका बाटा कठिन हुनु, भूगोलको जोखिम लगायतका कारण पनि सक्नेहरूले नसक्नेहरूका लागि आर्थिक सहयोग गर्न अपिल गरिएको उपाध्यक्ष आचार्यले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive