मङ्लबार, फाल्गुन २७, २०८१
Tuesday, March 11, 2025

पिपलटारीका शिक्षकहरूको लागि आयोजित ‘आईसिटी’ प्रशिक्षण सम्पन्न

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीका शिक्षकहरूको लागि आयोजित दुई दिने ‘आइसिटी’ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
रोटरी क्लब अफ पर्वतका अध्यक्ष र कुश्मा नगरपालिका–१० पिपलटारी वडा कार्यालयको संयुक्त आयोजना तथा रोटरी क्लब अफ काठमाडौँ र रोटरी नेपाल लिट्रेसी मिसनको सहयोगमा पिपलटारीका विभिन्न विद्यालयका शिक्षक तथा कर्मचारीहरू गरी करिब २५ जनाको लागि प्रविधि सम्बन्धी प्रशिक्षण दिइएको हो । तालिममा विद्यालयमा प्रयोग हुने विभिन्न प्रविधिहरूको बारेमा प्रशिक्षण दिइएको थियो । परीक्षा सञ्चालन र व्यवस्थापन कम्प्युटर एप्लीकेसनहरुबारे पनि कार्यक्रममा सहजीकरण गरिएको पनि आयोजक रोटरी क्लबले बताएको छ ।
शुक्रवार भएको तालिमको समापन कार्यक्रममा बोल्दै पिपलटारीका वडाध्यक्ष रामचन्द्र सुवेदीले शिक्षकहरूलाई गाली गरेर मात्रै शैक्षिक सुधार नहुने भएकोले अभिभावक शिक्षाको पनि उत्तिकै आवश्यकता रहेको बताए । सामाजिक, सांस्कृतिक, राजनैतिक, प्राज्ञिक लगायतका आन्दोलनमा शिक्षकहरुले भूमिका निर्वाह गर्दै आएको तथा गाउँमा केही बुझेको र बुझाउन सक्ने वर्गको रूपमा शिक्षकलाई लिने गरिएकोमा उनले खुसी व्यक्त गरे । तर आजभोलि विद्यार्थीहरू नै शिक्षकहरूसँग प्रविधि वा अन्य तरीकाले प्रतिस्पर्धा गर्ने वातावरण निर्माण भइरहेकोले शिक्षकहरू समयको माग अनुसार प्रविधिमा जोडिन सक्नुपर्ने वडाध्यक्ष सुवेदीको सुझाव छ । विगतमा परीक्षाका लागि प्रश्न पत्र निर्माणकै लागि सदरमुकाममा रहेका साइबरहरूमा जानुपरेको यथार्थताकाबीच अहिले यो अवस्थाको अन्त्य हुनुले पनि शिक्षकहरू प्रविधिसँग जोडिएका छन् भन्ने कुराको पुष्टि भएको उनको भनाइ छ ।
कार्यक्रममा नेपाली काँग्रेस पिपलटारी वडा कार्यसमितिका प्रतिनिधि लोक प्रसाद अधिकारी, नेकपा (एमाले) वडा कमिटीका सचिव शोभाखर खनाल, नेकपा (माओवादी केन्द्र) पिपलटारी वडा कमिटीका अध्यक्ष कृष्णप्रसाद सुवेदीले आफ्नो भनाई राख्दै शिक्षकहरूका माध्यमबाट विद्यार्थीहरूमा प्रविधिको विकास गराउनुपर्ने बताए । आधुनिक समयमा प्रविधिले मानिसमाथि दबाब सिर्जना गरिरहेको अवस्थामा शिक्षकहरू पनि अद्यावधिक हुँदै जानुपर्ने उनीहरूको भनाइ छ ।
कार्यक्रममा जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकनाथ अधिकारी, पूर्णेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद अर्याल, पूर्णेश्वर माध्यमिक विद्यालयका शिक्षक सन्तोष पौडेल, प्रशिक्षकको तर्फबाट संजय रेग्मी, सहभागीको तर्फबाट तिलोचन सुवेदी र पुतलीदेवी नेपालीले प्रशिक्षणका दौरान सिकिएका कुरा र आगामी दिनको सीपको दक्षताको लागि गरिने अभ्यासका विधि लगायतका बारेमा बोल्नुभएको थियो ।
रोट्रयाक्ट क्लब अफ पर्वतका अध्यक्ष विजय चापागाईँ, रोटरी क्लब अफ पर्वतका पूर्व अध्यक्ष तथा वर्ष २०२४÷२५ का असिस्टेन्ट गभर्नर गणेश पौडेल लगायतले शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रममा सहयोग गर्न पाउँदा आफूहरूलाई खुसी लागेको बताए । सामाजिक परिवर्तनका लागि शिक्षकहरूको भूमिका महत्त्वपूर्ण रहेजस्तै प्रविधिको विकासका लागि पनि शिक्षकहरूको भूमिका उस्तै रहने उनीहरूको भनाइ छ ।
प्रशिक्षण कार्यक्रमको समापन समारोहको सञ्चालन पिपलटारीका वडा सचिव नारायण लामिछानेले गरेका थिए ।
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive