मङ्लबार, अशोज १५, २०८१
Tuesday, October 1, 2024

बालमन्दिरका विद्यार्थीलाई पोसाक र छात्रवृत्ति वितरण

पर्वत : कुश्मामा रहेको वालमन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई पोसाक तथा छात्रवृत्ति वितरण गरिएको छ ।
कुश्मा नगरपालिका वडा नं. ५ बाट प्राप्त भएको ५० हजार रुपैयाँ तथा विद्यालय व्यवस्थापन समितिका सदस्य शान्ति श्रेष्ठ (आशङ्का) र विद्यालयका पूर्व विद्यार्थी सुनिल कुमालबाट सहयोग भएको ५० हजार रुपैयाँबाट विद्यार्थीहरूलाई सहयोग गरिएको हो । पोसाकमा नपुगेको २८ हजार सात सय ५० र विद्यालयमा आवश्यक रहेका छ वटा ह्वाइट बोर्ड खरिदका लागि २१ हजार दुई सय ५० रुपैयाँ कुमाल र श्रेष्ठबाट भएको सहयोगबाट खर्च गरिएको छ ।
विद्यार्थीहरूलाई पोसाक र छात्रवृत्ति हस्तान्तरण गर्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सामुदायिक विद्यालयमा अध्ययनरत बालबिालकाहरुलाई पोसाक र छात्रवृत्ति उपलब्ध गराउन आर्थिक सहयोग गरेका वडा कार्यालय, समितिका सदस्य र पूर्व विद्यार्थीलाई धन्यवाद दिए । सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरू गरिब तथा सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गर्ने र उनीहरूको आर्थिक अवस्थाले आवश्यक सामग्री जुटाउन सक्ने अवस्था समेत नरहेकोप्रति चिन्ता व्यक्त गरे ।
सामान्य पोसाक समेत खरिद गर्न नसकेका विद्यालयहरूलाई सहयोग गर्न अन्य सहयोगदाताहरूलाई पनि नगरप्रमुख जोशीले अनुरोध गरेका छन् । कुश्मा नगरपालिकाले विद्यालय र विद्यार्थीहरूको पक्षमा सकेसम्म धेरै काम गरिरहेको भए पनि सबै मागहरू पूरा गर्न नसकिने भएकोले कसैको गुनासो आउनु अस्वाभाविक नहुने पनि उनको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विपिन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष शर्मा र समिति सदस्य शान्ति श्रेष्ठको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोक बहादुर रानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन शिक्षक सोमप्रसाद आचार्यले गरेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive