मङ्लबार, चैत्र ११, २०८१
Tuesday, March 25, 2025

मोदीको सरस्वती मा.वि.मा जापानीज जोडीको सहयोग

पर्वत : जिल्लाको मोदी गाउँपालिका–५ बाजुङस्थित पातीचौरमा रहेको सरस्वती माध्यमिक विद्यालयलाई एउटा जापानी जोडीले तत्कालका लागि पाँच लाख ३५ हजार रुपैयाँ सहयोगको घोषणा गरेको छ।

करिब २० वर्ष अगाडि विद्यालयलाई आवश्यक परेको भवन समेत निर्माण गरिदिएको जोडी मात्सुसिता हिरोयुकी र उनकी श्रीमती रियो मितोले विद्यालयमा आवश्यक रहेको बस खरिद गर्नका लागि उक्त रकमको घोषणा विद्यालयमा नै आएर गरेका हुन्। विद्यालयलाई बस आवश्यकता रहेको भए पनि आवश्यक रकमको चाँजोपाँजो नमिल्दा बस खरिद हुन सकेको थिएन।

विद्यालयका प्रधानाध्यापक अजय लामिछानेका अनुसार जापानकै नागासाकी निची लायन्स क्लबले करिब १० लाख रुपैयाँ दिए पनि यो रकमले पुगेको थिएन। उक्त रकममा मोदी गाउँपालिकाले १५ लाख सहयोग गर्ने भनिए पनि अझै रकमको जोहो नहुँदा बस खरिदको प्रक्रिया अगाडि बढ्न सकेको थिएन। तर अपुग रकम आफूहरूले दिने भनेर जापानी जोडिले घोषणा गरेपछि विद्यालयले अब बस सञ्चालन गर्न पाउने भएको छ।

प्रधानाध्यापक लामिछानेका अनुसार जापानको यो जोडिले विद्यालयमा सहयोग गरेको यो नै पहिलो पटक भने होइन। २० वर्ष अगाडि पहिलो पटक भवन नै निर्माण गरिदिएका उनीहरू हरेक दुई वर्षमा विद्यालयमा नै आएर विभिन्न कार्यक्रम सञ्चालन गर्ने, विद्यालयका आवश्यकता पूर्तिमा सघाउने, शैक्षिक क्रियाकलापहरू सञ्चालन गर्ने, शैक्षिक सामग्रीहरू वितरण गर्ने, विद्यार्थीहरूलाई जापानी सिप र कलाबारे सिकाउने लगायतका काम गर्ने गरेका छन्।

कोभिड–१९ को सङ्क्रमणको कारण पछिल्लो पटक चार वर्षको अन्तरालमा विद्यालयमा आइपुगेको यो जोडीले मङ्गलवार विद्यालयमा आयोजित कार्यक्रममा यसरी नै सहयोग गरे।

हाल त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष तथा प्राध्यापक रहेका डा. खड्क बहादुर के.सी. मोदी गाउँपालिकाकै व्यक्ति हुन्। वर्षौँ पहिले आफू अध्ययनको सिलसिलामा जापान जाँदा मात्सुसिता हिरोयुकी र रियो मितोसँग सम्बन्ध स्थापना गरेर फर्किएका उनले यो सम्बन्धलाई विद्यालयमा जोडेका हुन्। वर्षौँ पहिले प्राथमिक तहसम्म मात्रै सञ्चालनमा रहेको विद्यालयलाई माध्यमिक तहमा स्तरोन्नति गर्ने भएपछि विद्यालयमा भवनको अभाव भयो।

सुरुमा त्यही भवन निर्माण गरिदिएर सहयोगको बाटो खुलाएको जापानी जोडीले आफ्नो सहयोगलाई अहिलेसम्म पनि निरन्तरता दिइरहेको छ। हालसम्म दुई वटा भवन निर्माण गरिदिएका उनीहरूले शैक्षिक सामग्री लगायतमा गरेका सहयोग उस्तै धेरै छन्।

उनीहरूले विद्यालयमा नै आएर गर्ने सहयोगले आफूहरू शिक्षणमा हौसिएको र विद्यार्थीहरूका लागि पनि उक्त सहयोग महत्त्वपूर्ण रहेको प्रधानाध्यापक लामिछानेले बताए। ‘हरेक दुई÷दुई वर्षमा विद्यालयमा नै आएर उहाँहरूले भेटघाट गन विद्यार्थीहरूलाई शैक्षिक सामग्री दिने, आफू पनि बसेर जापनिज कला र संस्कृतिको बारेमा थाहा दिने गर्नुभएको छ,’ उनले भने, ‘उहाँहरूसँगै जापानका विद्यार्थी र प्राध्यापकहरू पनि स्वयंसेवक बनेर आउनुहुन्छ। खेलकुद, संस्कृति, शिक्षा लगायतका क्षेत्रका कार्यक्रमहरूको आयोजना गर्नुहुन्छ। डा. खड्क सरले यस विद्यालयलाई जापानी नागरिकसँग जोडेर बनाइदिनुभएको सहकार्यको गुन केही गरेर तिर्न नसकिने छ।’

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive