पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई प्राज्ञिक विद्यार्थी परिषद्ले प्रशिक्षण प्रदान गरेको छ ।
एक असल नागरिक निर्माण गर्ने अभियान अन्तर्गत ‘एक सङ्कल्प राष्ट्रका लागि’ अभियान अन्तर्गत कार्यक्रम गरिएको हो । आफ्नो राष्ट्रको राष्ट्रियता, स्वाभिमान, सुरक्षा, इतिहास, संस्कार, संस्कृति, जीवनपद्धतिलाई सदैव आदर्शको रूपमा लिनको लागि कार्यक्रममा सिकाइएको थियो । विद्यार्थीमा राष्ट्र प्रेम, इमानदारिता, असल चरित्र लगायतका गुणहरू कायम राखी सकारात्मक परिवर्तनका लागि सदैव सक्रिय बनाउनको लागि कार्यक्रमले सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक प्रकाश रिजालले बताए ।
देशमा भ्रष्टाचार अन्त्य गर्ने, नैतिक र इमानदार वातावरण तयार पार्ने, दुव्र्यसनीमुक्त समाज बनाउने, प्रदूषणमुक्त वातावरण निर्माण गर्ने, पर्यावरणका लागि सदैव सचेत रहने, महिलाको सुरक्षा र सम्मानलाई प्राथमिकतामा राख्ने लगायतका विषयमा पनि प्रशिक्षणमा जानकारी गराइएको छ । विद्यार्थीहरूलाई क्षमतावान् र सीपयुक्त बनाउँदै रोजगारीको सिर्जना गर्ने, देशमा नै आफ्नो समृद्ध भविष्य निर्माणको लागि कार्य गर्ने, राष्ट्र प्रथम भावका साथ आफ्नो जिम्मेवारी पूरा गर्दै मुलुकका लागि योगदान दिने नागरिक तयार पार्न परिषद्ले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।
प्रशिक्षणमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल गण्डकी प्रदेश सङ्गठनका सचिव नारायण तिमिल्सिना र सदस्य सन्तोष शर्मा पौडेलले प्रशिक्षण दिएका थिए ।