शुक्रबार, अशोज १८, २०८१
Friday, October 4, 2024

शिक्षक सङ्घ कुश्माको आयोजनामा रक्तदान 

पर्वत : नेपाल शिक्षक सङ्घ कुश्मा नगर कार्यसमितिको आयोजनामा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसर पारेर रेडक्रससँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको शिक्षक सङ्घ कुश्माका अध्यक्ष मिम शर्मा लामिछानेले बताए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको सभा हलमा भएको कार्यक्रममा पुष्प वृक्षारोपण कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रममा शिक्षक सङ्घमा आबद्ध रहेकाहरू सहित सुरक्षा निकाय र सर्वसाधारणहरूले पनि रक्तदान गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालले नेपालमा २०२० सालमा स्थापना भएको रेडक्रसले मानवताको पक्षमा धेरै कामहरू गर्दै आइरहेको बताउनुभयो । यति बेला रेडक्रसको रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुँदै गएकोले केही रगत भण्डारणको आवश्यकता परेको बेलामा शिक्षक सङ्घले रक्तदान कार्यक्रम गरेर सामाजिक सेवा भावलाई उच्च बनाएको उहाँको भनाई छ । यसले शिक्षकले पढाउने मात्रै नभएर सामाजिक सेवाको क्षेत्रमा पनि काम गरिरहेको उदाहरणलाई समाजमा प्रष्ट पारेको सभापति रिमालको भनाइ छ ।
शिक्षक सङ्घ पर्वतका अध्यक्ष यज्ञनाथ बास्तोलाले शिक्षकका पेसागत सङ्घ सङ्गठनहरूमाथि प्रश्नहरू उठिरहेको बेलामा सङ्घले गरेको रचनात्मक कामले सङ्घको औचित्यको बारेमा पुष्टि भएको बताउनुभयो । सोही कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माले जिल्लामा बढिरहेको डेंगुको सङ्क्रमणबारे जानकारी गराउँदै शिक्षकहरूलाई सचेतनाका लागि विभिन्न विषयहरू प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मोतीलाल चापागाईँ, नेपाल किसान महासङ्घ पर्वतका अध्यक्ष रघुनाथ गौडेल, नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति पर्वतकी कार्यसमिति सदस्य अम्बिका पौडेल, लगायतले पनि बोल्नुभएको थियो । शिक्षक सङ्घ कुश्मा नगर कार्यसमितिका अध्यक्ष मिम शर्मा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत भोज कुमारी शर्मा र सञ्चालन महेन्द्र कुमार जोशीले गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष लामिछानेले पर्वतका सात वटा पालिका मात्रै नभएर देशका अन्य स्थानीय तहका शिक्षक सङ्घको तुलनामा पर्वतको शिक्षक बढी सक्रिय रहेको दाबी गर्नुभयो । पर्वतको हकमा अब अन्य स्थानीय तहमा रहेका समितिहरू पनि सक्रियताका साथ लाग्नुपर्ने उहाँको भनाइ छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive