प्रहरी नायव महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ।
बैठकले गृह मन्त्रालयको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय लिएको हो। बढुवा समितिले असार १४ गते थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
एआईजीमा बढुवा भएसँगै अब थापाले भावी आइजीपीका लागि अर्का एआईजी विश्वराज पोखरेलसँगै प्रतिस्पर्धा गर्नेछन्। यसअघि सरकारले थापाकै ब्याची विश्वराज पोखरेललाई एआईजीमा एकल बढुवा गरेको थियो।
थापाले सिआईबी र अपराध महाशाखाको प्रमुखका रुपमा काम गरिसकेका छन्। उनले चितवन, काभ्रेलगायतका जिल्लाको पनि प्रमुख भएर काम गरेका थिए।
अहिले नेपाल प्रहरीमा प्रशासनतर्फ चार एआईजी छन् । हरिबहादुर पाल, निरज शाही र प्रद्युम्न कार्की आईजीपी शैलेश थापाका व्याची हुन्। उनीहरू थापासहित आगामी बैशाखमा अवकाशमा जानेछन्।
कृष्णहरि पुष्कर सचिव बने
सहसचिव कृष्णहरि पुष्कर सचिवमा बढुवा भएका छन्। आजैको मन्त्रिपरिषद् बैठकले सहसचिव पुष्करलाई प्रशासनतर्फ सचिवमा बढुवा गरेको हो।
बढुवाका लागि एक नम्बरमा सिफारिस भएका पुष्कर सचिवमा बढुवा भएका हुन्। यसअघि उनी कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रवक्ताका रुपमा थिए।
बढुवा सिफारिस समितिको आजै बसेको बैठकले प्रशासनतर्फ एक सचिवमा बढुवाका लागि पहिलो नम्बरमा पुष्कर, दोस्रोमा खगेन्द्र प्रसाद नेपाल र तेस्रोमा किरण राज शर्माको नाम सिफारिस गरेको थियो ।
साभार:फरकधार