पर्वत : जल र जङ्गल सहित पर्यावरणको संरक्षणमा बिद्यार्थीहरुको भूमिका बढाउन कुश्माको नारायण माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डिभलपमन्ट (यु.एस.ए.आई.डी) मार्फत अमेरिकन नागरिकहरूले गरेको सहयोग अन्तर्गत उक्त कार्यक्रम दुई दिनसम्म सञ्चालन गरिएको हो । युएसएआइडी जलजंगल गतिविधि कार्यक्रम अन्तरगत उक्त तालिमको आयोजना गरिएको हो ।
विद्यालयका विभिन्न कक्षामा अध्ययनरत ५० जना विद्यार्थीहरू सहभागी भएको कार्यक्रममा कुनै पनि भौतिक निर्माणका आयोजना निर्माणको क्रममा पर्यावरणमा ध्यान दिनुपर्ने कुराहरू, निर्माणका क्रममा जलचर र थलचर प्राणीहरूको रक्षा, वनजंगल र पानीका स्रोतहरूको संरक्षणमा ध्यान दिनुपर्ने कुराहरू, मानवीय क्रियाकलापबाट प्रकृतिमा पर्ने असरहरू, जलवायु परिवर्तनको न्यूनीकरणका लागि व्यक्ति हुँदै राष्ट्रले गर्नुपर्ने क्रियाकलापहरू लगायतको बारेमा प्रशिक्षक प्रशिक्षक तथा वातावरणविद् शिशिला बानियाले विद्यर्थीहरुलाई प्रशिक्षण दिएकी छिन् ।
यस्तै पूर्वाधार परियोजनालाई गति दिन सामाजिक सुरक्षणको प्रयोग, प्राकृतिक प्रकोप, आगलागीका घटना, विस्फोट, रासायनिक चुहावट तथा विषाक्त पदार्थ, स्वास्थ्य आपतकालिन अवस्था, व्यक्तिहरूको कार्यस्थलमा हुने शारीरिक र मानसिक सुरक्षाबारे विद्यार्थीहरूले ज्ञान पाएका छन् । कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रकृति र पर्यावरणको लागि सबैले आआफ्नो ठाउँबाट सक्दो प्रयास गर्नुपर्ने बताउँदै आफूहरू त्यसका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
जलजंगल गतिविधि कार्यक्रमले विद्यार्थीहरूमा चेतनाको स्तरलाई फराकिलो बनाएको बताए । तालिममा दिइएका विषयवस्तुहरू दैनिक रूपमा अध्ययन गर्दै आइरहेको भए पनि फरक संस्था र फरक प्रशिक्षकबाट दिइएको ज्ञानले उनीहरूमा गहिरो छाप पर्ने भएकोले तालिम महत्त्वपूर्ण रहेको उनको भनाई छ ।