पर्वत : पर्वतको फलेवास नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृत रूपमा आउनुभएका विष्णुप्रसाद पौडेललाई स्वागत सहित पद बहाली गरिएको छ ।
नगरप्रमुख गंगाधर तिवारी, वडाध्यक्षहरू तथा शाखा प्रमुखहरुहरुले उहाँलाई स्वागत गर्दै पदबाहलीपछि सफलताको कामना व्यक्त गरेका छन् । प्रशासकीय अधिकृत पौडेललाई नगर कार्यपालिकाको कार्यालयमा स्वागत गर्नुहुँदै नगरप्रमुख तिवारीले नगरको समग्र अवस्थाका बारेमा जानकारी गराउनुहुँदै नगरवासीहरूको सेवा र नगरको विकासमा जुट्न जनप्रतिनिधि र कर्मचारीको समन्वय र सहकार्य प्रमुख सर्त भएको बताउनुभयो ।
नगरबासीहरुले पाँच वर्षका लागि सेवा गर्न आफूहरूलाई जिम्मेवारी सुम्पिएको उल्लेख गर्नुहुँदै उहाँले आम नगरवासीको सेवामा जनप्रतिनिधि र कर्मचारीहरू बिनाशर्त दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो । नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत पौडेलले आफूले निजामती सेवामा सँगालेको अनुभव, जनप्रतिनिधिहरूको सल्लाह तथा कर्मचारीको सहकार्यमा कुनै कसर बाँकी नराखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । राज्यले निर्दिष्ट गरेका तीन तहका सरकारमध्येको तल्लो तहको र हरेक नागरिकको घरदैलाको सरकारको अनुभूति दिने गरी नगर सरकारलाई शिरमा राखेर सबैको सहकार्यका साथ आफू अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिका–३ शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर केसी, वडा नम्बर ५ का वडाध्यक्ष नारायण लामिछाने, वडा नम्बर १० का वडाध्यक्ष अमरबहादुर क्षेत्री, नगर शिक्षा अधिकृत कृष्णप्रसाद आचार्य, वरिष्ठ लेखा अधिकृत यशोदा सुबेदी लगायत कर्मचारीहरूले नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत पौडेललाई स्वागत गर्नुभएको थियो । सोही क्रममा प्रदेश लोकसेवा आयोगबाट सिफारिस भइआएका वरिष्ठ सहायक पाचौं तहका विज्ञान क्षेत्री र सन्तोष मगराँतीलाई समेत नगरपालिकामा स्वागत गरिएको छ ।