पर्वत : नेपाली सेनाले फलेवास नगरपालिका–५ खानीगाउँमा प्रतीक्षालय, खानेपानी धारा र शौचालय निर्माण गरेको छ ।
नेपाली सेनाको पर्वतमा रहेको नयाँ रणभीम गुल्मका गुल्मपति सेनानी सुवास थापाका अनुसार निर्माण गरिएका संरचनाहरू फलेवास नगरपालिका र स्थानीय मन्दिर संरक्षण समितिलाई मङ्गलवार संयुक्त रूपमा हस्तान्तरण गरिएको छ ।
नेपाली सेनाको शीघ्र प्रभावी परियोजना कार्यक्रम अन्तर्गत नागरिक–सैनिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले पश्चिम पृतना हेड क्वार्टरको निर्देशन, श्री नं. २३ बहिनी अड्डा बागलुङको सुपरिवेक्षण तथा नयाँ रणभीम गुल्मको पर्वतको नेतृत्वमा ती संरचनाहरू निर्माण गरिएका हुन् । फलेवास नगरपालिका तथा अन्य सरोकारवालाहरुसँंग प्रत्यक्ष समन्वय गरी गत भदौबाट खानीगाउँमा रहेका जिमिरे भगवती मन्दिर देवीस्थानमा प्रतीक्षालय, पिउने पानीको धारा र शौचालय निर्माणको काम गरिएको हो ।
नेपाली सेनाबाट प्राप्त बजेट र उपलब्ध स्रोत र साधनद्वारा ती संरचनाहरू निर्माण गरिएका हुन् । निर्माण गरिएका भौतिक संरचनाहरू श्री नं. २३ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी जगत बहादुर पौडेलबाट उद्घाटन गरी फलेवास नगरपालिका र जिमिरे भगवती मन्दिर संरक्षण समितिलाई संयुक्त रूपमा हस्तान्तरण गरिएको हो ।
नेपाली सेनाको नीति अनुसार जिल्लामा सञ्चालन गरिने नागरिक–सैनिक सम्बन्ध प्रगाढ गराउन शीघ्र प्रभावी परियोजना कार्य तथा स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै सेनाले यस्तै खालका कामहरू गर्दै आइरहेको छ । यस्ता प्रकृतिका कार्यक्रमले नागरिक–सैनिक सम्बन्ध प्रगाढ बनाउन महत्त्वपूर्ण टेवा पु¥याउने सेनानी थापाले बताउनुभयो ।
यस्ता निर्माणकार्यले सामाजिक रूपमा आयोजना गरिने कार्यक्रम लगायत अन्य कार्यहरूमा सहयोग पुगेको छ । जिमिरे भगवती मन्दिर संरक्षण समितिद्वारा हरेक वर्ष बडा दसैँ र चैते दसैँ लगायतका अन्य विशेष दिनहरूमा आयोजना हुने पूजाआजा तथा मेलामा स्थानीय नागरिकहरू लाभान्वित हुन सक्ने श्री नं. २३ बहिनी अड्डा बागलुङका बाहिनीपति सहायक रथी जगत बहादुर पौडेलले बताउनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, उपप्रमुख शोभाकुमारी क्षेत्री, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा लगायत बाहिनी अड्डा अन्तरगत युनिटका युनिटपति सहित नयाँ रणभीम गुल्म पर्वतका गुल्मपति सेनानी सुवास थापा क्षेत्री, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, फलेवास नगरपालिकाका वडाध्यक्षहरू सहित उक्त क्षेत्रका विद्यालयका प्रधानाध्यापक, विद्यार्थी, एनसीसी क्याडेट छात्र÷छात्रा जिमिरे भगवती मन्दिर संरक्षण समितिका अध्यक्ष, दीपक शर्मा पौडेल लगायत स्थानीयको सहभागिता रहेको थियो ।
फलेवासमा सेनाले बनायो प्रतीक्षालय, धारा र शौचालय
