पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा प्रहरी कर्मचारीहरूको लागि डेंगु रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला रेडक्रस सोसाइटी पर्वतको प्राविधिक सहयोगमा पर्वत अस्पतालका मेडिकल अधिकृत डा.मिलन अवालेबाट डेंगु रोगको वर्तमान अवस्था, यसको प्रकोप फैलिने कारण, रोग लाग्दा लक्षण र अवस्था, यसको उपचार, रोकथाम तथा नियन्त्रणका लागि अपनाउनुपर्ने विधिहरू लगायतको विषयमा प्रहरी कर्मचारीहरूलाई अभिमुखीकरण गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले बताएको छ । अभिमुखीकरण गर्दै डा. अवालेले घर आसपासमा रहेको फोहर, झाडी, नहल्लिने गरेर जमेको पानीलगायतका कारण लामखुट्टेले फुल पारेर बच्चा सङ्ख्या वृद्धि हुने लामखुट्टेको टोकाइ बढ्दा डेंगुको जोखिम पनि बढ्दै जाने भएकोले सचेत हुन आग्रह गर्नुभयो ।
लामखुट्टेको टोकाइबाट बच्न आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडा लामखुट्टे नछिर्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप बाल्ने र मलम लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने गरी लुगा लगाउनुपर्ने उहाँको सुझाव छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टको प्रमुख आतिथ्यमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटी पर्वतका सभापति तथा नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य रुद्र बहादुर रिमाल सहित प्रहरी निरीक्षक, जुनियर प्रहरी अधिकृत र जवानहरूको सहभागिता रहेको थियो । उक्त अभिमुखीकरण कार्यक्रम पश्चात् जिल्ला प्रहरी कार्यालय पर्वत परिसरको स्थलगत अनुगमन गरी जमेको पानीमा डेंगु फैलाउने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान समेत सञ्चालन गरिएको थियो ।