पर्वत : नेपाल किसान महासङ्घ पर्वतको संयोजन तथा नेपाल किसान महासङ्घ पैयुँ गाउँपालिकाको आयोजनामा आपसी भेटघाट सहित जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपालीहरूका महान् पर्व बडा दसैँ, दीपावली, छठ र नेपाल सम्बतको अवसरमा पारेर नेपाली किसान महासङ्घमा आबद्ध पदाधिकारी सदस्य तथा कृषकहरू सहित नेपाली काँग्रेस पर्वतका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुबीचमा शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रममा बोल्दै पैयुँ गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेसका महासमिति सदस्य खगेन्द्रप्रसाद तिवारीले नेपालका चाडबाड मौलिक र संस्कृतिले भरिपूर्ण रहेकाले यिनीहरूमा विकृति आउन नदिन सबैले ध्यान दिनुपर्ने बताउनुभयो । कृषकहरूको असल कर्मले नै मानिस बाँच्न पाउने भएकोले मानिसहरूलाई बचाउने भगवानको रूप नै कृषकहरूको भएको उहाँको भनाइ छ ।
कार्यक्रममा पैयुँ गाउँपालिकाका अध्यक्ष राज मल्ल ठकुरी, किसान महासङ्घ पर्वतका अध्यक्ष रघुनाथ गौडेल, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य गुप्त प्रताप सेन, नेपाली काँग्रेस पैयुँ गाउँपालिकाका सभापति प्रदीप प्रधान, नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी उपसभापति गिरीराज गौतम, पैयुँ गाउँपालिका–१ टकलाकका वडाध्यक्ष मीनप्रसाद न्यौपाने, नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य गोविन्द प्रसाद पराजुली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पैयुँ गाउँपालिका–३ बेउलीबासका ज्येष्ठ नागरिक एवं पुराना किसान ९३ वर्षीय नर बहादुर राना सहितका आठ जना अगुवा कृषकहरूलाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको छ । नेपाल किसान महासङ्घ पैयुँ गाउँपालिकाका अध्यक्ष गंगाधर काफ्लेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण बस्यालले गर्नुभएको थियो ।