बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

जलजला गाउँपालिकाका अध्यक्ष आचार्यलाई मानार्थ डा. उपाधि

पर्वत : पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले मानार्थ डक्टर उपाधि पाएका छन् ।
इन्डो नेपाल रिलेसनसीप एन्ड पिस फाउन्डेसनको आयोजनामा पोखरामा बुधवार भएको कार्यक्रममा आचार्यलाई यो उपाधि प्रदान गरिएको हो । यससँगै आचार्यले अब आफ्नो नामको अगाडि डा. लेख्न पाउने भएका छन् । फाउन्डेसनले अन्तर्राष्ट्रिय गौरव अभिमान पुरस्कार, २०२४ अन्तर्गत सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानलाई कदर गर्दै यो सम्मान गरेको हो । सम्मान पाएसँगै आचार्यले आफूले २३ वर्षदेखि निरन्तर रूपमा गर्दै आएको सामाजिक सेवाको मूल्याङ्कन भएकोमा खुसी व्यक्त गरे ।
२०६२ सालमा धाइरिङ युवा क्लबको संस्थापक अध्यक्ष भएर गाउँको गोरेटो बाटा निर्माण, मन्दिर तथा सत्तल निर्माणको नेतृत्व गरेका उनले त्यसपछि सामाजिक सेवालाई निरन्तरता दिँदै आइरहेका छन् । उनी २०७२ सालमा गण्डकी गोपाल गौशालाको संस्थापक अध्यक्ष बने । २०७६ सालमा आफ्नै संयोजकत्वमा गण्डकी गोपाल गौशालाको आयोजना विराट महायज्ञ तथा गौ महोत्सव आयोजना गरे । २०७७ सालमा कोभिडको महामारीको बेलामा क्रिएटिभ समूह निर्माण गरेर प्रभावितहरूलाई सहयोग गर्न सक्रिय बने । जलजलावासीलाई घरमा नै औषधि, अक्सिजन लगायतका सामग्रीहरू वितरण गर्ने, बिरामीलाई अस्पतालसम्म ल्याउने लैजाने काम गरे ।
आचार्यले विभिन्न समयका प्राकृतिक विपत्तिहरूमा प्रभावितहरूलाई राहत तथा पुनः स्थापनाका सामग्रीहरू वितरण गर्दै आइरहेका छन् । २०६८ सालमा धाईरिङको कृष्ण भवन धर्म माध्यमिक विद्यालयको विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बनेका उनले लगातार दुई कार्यकाल पूरा गरे । उनी २०७८ सालमा समाजवादी अध्ययन  प्रतिष्ठान पर्वतको संयोजक, २०६७ सालबाट दुई कार्यकाल  नेपाली काङ्ग्रेस धाइरिङको वडा सभापति, २०७८ सालमा नेपाली काङ्ग्रेस पर्वतको जिल्ला कार्यसमिति सदस्य, २०७६ सालमा जलजला कृषि बजारको अध्यक्ष तथा लुङ्दी जलजला बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन् । उनी २०७९ सालमा भएको स्थानीय तहको दोस्रो निर्वाचनबाट जलजला गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित भएका हुन् ।
आचार्य जस्तै सामाजिक सेवामा योगदान गरेबापत पर्वतकै फलेवास नगरपालिका प्रमुख गंगाधर तिवारीले पनि मानार्थ डा. उपाधि प्राप्त गरेका छन् । उनलाई पनि इन्डो नेपाल रिलेसनसीप एन्ड पिस फाउन्डेसनले यो उपाधि दिएको हो ।
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive