पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत कार्तिक महिनामा झण्डै साढे १८ लाख रुपैयाँ राजश्व उठाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सिताराम ओझाका अनुसार एक महिनामा कुल एक हजार छ सय ५७ वटा सवारीहरूमाथि गरिएको कारबाहीबाट १८ लाख ४८ हजार रुपैयाँ सङ्कलन भएको छ । कार्तिकमा ७८ वटा ट्रक तथा टिपरबाट ६५ हजार, ८८ वटा बसबाट ७० हजार पाँच सय, आठ सय ३६ वटा कार तथा जिपबाट ९८ हजार छ सय, ४२ वटा ट्र्याक्टरबाट ३३ हजार, छ सय दुई वटा मोटरसाइकलबाट छ लाख ८४ हजार र अन्य ११ वटा सवारीहरूबाट नौ हजार पाँच सय रुपैयाँ राजश्व उठेको हो ।
पर्वत ट्राफिकले चालु आर्थिक वर्ष २०८१/०८२ को चार महिनाको अवधिमा ४१ लाख ४३ हजार रुपैयाँ राजश्व उठाइसकेको छ । गत आर्थिक वर्षको १२ महिनाको अवधिमा एक करोड एक लाख रुपैयाँ राजश्व उठाएको पर्वत ट्राफिकले चालु आर्थिक वर्षको चार महिनामा नै अघिल्लो आर्थिक वर्षको कुल रकमको करिब आधा बराबरको राजश्व उठाइसकेको हो ।
प्रहरी नायव निरीक्षक ओझाका अनुसार चार महिनाको अवधिमा सबैभन्दा बढी राजश्व उठेको कार्तिकमा कारबाही पनि सबैभन्दा बढी भएका छन् । साउनमा छ सय ११ वटा, भदौमा सात सय ३३ वटा, असोजमा नौ सय ९५ र कार्तिकमा एक हजार छ सय ५७ वटा सवारीहरूमाथि कारबाही गरिएको छ ।
सवारीहरूमध्ये सबैभन्दा बढी राजश्व मोटरसाइकलमाथि गरिएको कारबाहीबाट सङ्कलन भएको छ । यो समयमा मुस्ताङ भ्रमणमा जाने मोटरसाइकलयात्रीहरु धेरै आउने गरेका र त्यसमा पनि भारतीय पर्यटकहरु धेरै रहेका छन् । उनीहरूले नेपालका ट्राफिक नियम तथा सवारी पास लगायतका विषयमा थाहा नपाउँदा ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका कारण पनि मोटरसाइकलमाथि भएको कारबाहीको सङ्ख्या धेरै देखिएको हो ।