पर्वत : पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा शिक्षक तथा विद्यार्थीहरूको प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत मङ्गलवार विद्यार्थीको नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
नगर स्तरीय प्रतियोगिताबाट छनोट गरेर जिल्ला स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गराउन कुश्मास्थित नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा प्रतियोगिताको आयोजना गरिएको हो । शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशले प्रदेशका ११ वटै जिल्लाहरूमा प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिरहेको छ ।
मङ्गलवारको नगरपालिका स्तरीय प्रतियोगिताबाट नृत्यमा नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय प्रथम, नारायण माध्यमिक विद्यालय द्धितिय, राष्ट्रिय बाल शिक्षा सदन तृतीय र कालीगण्डकी एकेडेमी सान्त्वना स्थानमा आएका छन् । उनीहरूलाई सोही अवसरमा पुरस्कार समेत वितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चापागाईँले शिक्षकले विद्यार्थीहरूमा रहेका प्रतिभाको पहिचान गर्नको लागि कार्यक्रम महत्त्वपूर्ण रहेको बताए । किताबी ज्ञान लिनु मात्रै सिकाई नभएको भन्दै उनले दैनिक व्यवहारसँग जोडिएका हरेक चुनौतीहरूको सामना र समाधान गर्न सक्ने सीप झनै महत्पूर्ण हुने उनको भनाई छ ।
कार्यक्रममा नगर शिक्षा शाखाका अधिकृत मोतीमाया तिवारी ढकाल, दीपक सुवेदी, नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल इन्द्रमान खत्री लगायतले पनि बोलेका थिए । शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
शिक्षक विद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत अब अन्तिम कार्यक्रम बुधवार कुश्माको नारायण माध्यमिक विद्यालयमा शिक्षकहरूको हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ ।