पर्वत : नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति पर्वतको आयोजनामा माध्यमिक तहका विद्यार्थीहरुबीच पर्वत जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहहरूका कुल २७ वटा विद्यालयहरूको सहभागिता रहेको प्रतियोगिताको छनोट चरणबाट १५ वटा समूह छानिएको थियो । ती विद्यालयहरुबीच भएको प्रतिस्पर्धामा प्रथम स्थानमा कालीगण्डकी एकेडेमी, द्वितीय स्थानमा आदर्श अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय, तृतीय स्थानमा नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय र सान्त्वना स्थानमा पातीचौरको सरस्वती माध्यमिक विद्यालय आएका छन् ।
प्रतियोगितामा ‘सेलेक्सन राउन्ड’, ‘इस्टिमेटीङ एन्ड गेसीङ राउन्ड’, ‘जनरल राउन्ड’, ‘अडियो राउन्ड’ र ‘र्यापीड फायर राउन्ड’ गरेर पाँच वटा विधामा प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानमा आएका विद्यालयहरूले पुरस्कार स्वरूप क्रमशः १५ हजार, १२ हजार, नौ हजार र छ हजार रुपैयाँ सहित प्रमाण पत्र पाएका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतको प्रमुख विष्णुराम बि.क.ले विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा हाजिरीजवाफको प्रतियोगिताको ठुलो महत्त्व रहेको बताए । विद्यार्थीहरूमा प्रतिस्पर्धी भावनाको विकास गराउँदै उनीहरूको अध्ययनमा रुचि बढाउन र नयाँ ज्ञानको खोजी गर्ने बानी बसाल्न प्रतियोगिता उपयोगी रहेको उनको भनाइ छ ।
यस्तै मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले हाजिरीजवाफका माध्यमबाट विद्यार्थीहरूको सोच, बौद्धिक क्षमता, आत्मविश्वास र व्यवहारिक क्षमता जाँच्न सकिने बताइन । पूर्व शिक्षक समेत रहेकी उनले हाजिरीजवाफले विद्यार्थीले सिकेका पाठहरूको वास्तविकता परीक्षण गर्न मद्दत गर्दै विद्यार्थीको अध्ययनको गहिराइ र परिपक्वता अभिवृद्धि गर्ने विचार राखिन । विद्यार्थीमा आत्मविश्वासको विकास गर्न, वाचन र लेखन क्षमता सुधार गर्न, समस्या समाधानको क्षमता अभिवृद्धि गर्न पनि प्रतियोगिता उपयोगी भएको उनको भनाई छ ।
विद्यार्थीहरूको ज्ञान अभिवृद्धिका लागि शैक्षिक कार्यक्रम अन्तर्गत कक्षा एकदेखि १० सम्मका विद्यार्थीहरू सहभागी गराएर कार्यक्रमलाई उपलब्धिमूलक बनाइएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति पर्वतका कोषाध्यक्ष देवेन्द्र पौडेलले बताए । कार्यक्रममा शिवालय माध्यमिक विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्यहरू समेत प्रस्तुत गरेका थिए । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति पर्वतका अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतियोगितामा कार्यक्रम सञ्चालन जिल्ला सचिव टंक लाल भुसालले र हाजिरीजवाफ प्रतियोगिता नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति पर्वतका सदस्य एवम् शिवालय मा.वि का शिक्षक आनन्द पौडेलले सञ्चालन गर्नुभएको थियो।