पर्वत : पर्वतको पैयुँ गाउँपालिका–५ मा सुरक्षित शौचालयको पहुँच सबै परिवारमा पु¥याउन र खुला शौचलाई अन्त्य गर्न अभियान थालिएको छ ।
वडाध्यक्ष निर्भीक नारायण भुर्तेलका अनुसार दिगो विकासको लक्ष्य अन्तर्गत छ नम्बरमा रहेको सफा पानी र सरसफाइमा आधारित रहेर वि.सं. २०८३ सालसम्ममा यो अभियान पूरा हुने लक्ष्य राखिएको छ । अभियानका सूचकहरूमा शौचालय निर्माण गरेका परिवार, शौचालयको प्रकार, विपन्न परिवारको पहिचान, स्वास्थ्य सुरक्षामा सुधार र खुला शौच अन्त्यको प्रगतिलाई लिइएको छ । जसमा ५० परिवारमा व्यवस्थित शौचालय निर्माण भएको र खुला शौच अन्त्यको दिशामा उल्लेखनीय प्रगति भएको वडाध्यक्ष भुर्तेलले बताए ।
लक्ष्य प्राप्त गर्न विपन्न परिवारको पहिचान गरि शौचालय निर्माणमा प्राथमिकता दिइएको, जनश्रमदान र सरकारी सहयोगमार्फत अभियान चलाइएको, स्वच्छता र शौचालयको प्रयोग सम्बन्धी जनचेतना अभियान चलाइएको, दूषित पानी र खुला शौचजन्य जोखिममा कमी ल्याउन पहल भइरहेको छ । हालसम्मको परिणाममा नागरिकको स्वास्थ्यमा सुधार आएको, जलजन्य रोगको दरमा कमी आएको, महिला र बालबालिकाहरूको सुरक्षा बढेको, सुरक्षित शौचालयले गोपनीयता र सम्मान बढेको उनको भनाइ छ ।
शौचालय निर्माण विस्तार गरेर बाँकी परिवारलाई पनि शौचालयको पहुँचमा लैजाने, स्वच्छता सम्बन्धी सचेतना कार्यक्रमहरूलाई निरन्तरता दिने, निर्माण गरिएका शौचालयहरूको अनुगमन र मर्मत, जनसहभागिता र सहयोगमा निरन्तरतालाई आगामी योजनाका रूपमा राखिएका छन् । यो योजना लागू गर्ने क्रममा बजेट र स्रोतको कमी, समुदायमा सचेतनाका कमी, मर्मत सम्भारको अभाव जस्ता चुनौतीहरू आएको भए पनि आवश्यक समन्वयमा अभियान चलिरहेको वडाध्यक्ष भुर्तेलले बताए ।
मङ्सिर १७, २०८१