पर्वत : पर्वतको मोदी गाउँपालिका स्थित विद्यालयका प्रधानाध्यापकहरूको संयुक्त बैठक सम्पन्न भएको छ । गाउँपालिकाको सभा हलमा भएको बैठकले विभिन्न ६ वटा निर्णयहरू गरेको छ ।
जसमा वार्षिक शैक्षिक नीति, कार्यक्रम तथा बजेटबारे छलफल गर्दा नीति तथा कार्यक्रमहरूलाई चुस्त दुरुस्त रूपमा कार्यान्वयन गर्ने, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही मङ्सिरको २५ गतेबाट सुरु गर्ने र यसलाई सफल पार्नको लागि सरोकारवालाहरूले जिम्मेवारीपूर्वक सहयोग गर्ने निर्णय भएको छ । यस्तै महालेखा परीक्षकको कार्यालयले पेस गरेको प्रारम्भिक प्रतिवेदनमाथि छलफल भएको छ । जसमा आगामी दिनमा विद्यालयमा कार्यान्वयन हुने कार्यक्रमहरूमा शून्य बेरुजुतर्फ उन्मुख हुने निर्णय भएको छ ।
चौथो निर्णयको रूपमा एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीलाई पूर्ण रूपमा अद्यावधिक गर्ने तथा विपन्न लक्षित छात्रवृत्तिको फाराम इमिसमा अपलोड गर्ने भनिएको छ । बैठकले आर्थिक लेखा परीक्षण, सामाजिक परीक्षण तथा विद्यालय सुधार योजना मौजुदा ऐन नियम अनुसार तयार गरी सम्बन्धित कार्यालयमा पेस गर्ने निर्णय पनि गरेको छ ।
छैटौँ निर्णयमा कक्षा एकदेखि तीनसम्मको एकीकृत पाठ्यक्रम तथा मोदी गाउँपालिकाको स्थानीय पाठ्यक्रम प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्ने निर्णय पनि भएको छ । गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले गाउँपालिकाको शैक्षिक सुधारका लागि बेला बेलामा प्रधानाध्यापकहरुको बैठक आयोजना गरेर सामूहिक छलफल गर्ने गरिएको बताइन् ।
सोही अवसरमा जिल्ला प्रहरी कार्यालय पर्वतको सहकार्यमा मोदी गाँउपालिका स्थित विद्यालयहरुमा अध्ययन÷अध्यापन गर्न र सुरक्षाका विषयमा थप विद्यार्थीहरुलाई सचेत गराउनका लागि स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक २०८१ को विमोचन गरिएको छ ।
मङ्सिर १७, २०८१