पर्वत : पर्वतको कुश्मा नगरपालिकाले कालीगण्डकी नदी र मोदी खोलाबाट नदीजन्य पदार्थको उत्खनन गर्ने बारेमा वातावरणीय अध्ययन प्रतिवेदन तयार पार्न सार्वजनिक सुनुवाइ गर्ने भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलका अनुसार नदी र खोलाका बगरबाट दिगो रूपमा ढुङ्गा, गिट्टी, बालुवा, सङ्कलन तथा उत्खनन कार्यको लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्न लागिएको छ । यसको उद्देश्य भनेको प्रतिवेदन तयार गरी प्रचलित कानुन बमोजिम नदीजन्य पदार्थको सङ्कलन तथा उत्खनन गर्न मार्ग प्रशस्त गर्नु रहेको छ । प्रस्तावको कार्यान्वयनबाट प्रभावित हुने क्षेत्रमा प्रस्तावको बारेमा सार्वजनिक सुनुवाइको आयोजना गरी राय सुझाव सङ्कलन गर्नुपर्ने भएकोले स्थानीय समुदाय लगायत सबै सरोकारवालाहरूलाई सार्वजनिक सुनुवाइमा सहभागी हुन अनुरोध गरिएको हो ।
उक्त प्रस्तावको कार्यान्वयनबाट प्रभावित क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली र आर्थिक प्रणालीबिच पर्न सक्ने प्रभाव, नकारात्मक प्रभावको निराकरण र सकारात्मक प्रभावको बढोत्तरी गर्न सकिने विषयमा कार्यक्रममा छलफल हुने छ ।
सार्वजनिक सुनुवाइ आउँदो पुस एक गते बिहान १० बजे कुश्मा नगरपालिका–२ स्थित रिभर एक्फ्लोर नेपाल नयाँपुलमा र दिउसो दुई बजे कुश्मा नगरपालिका–८ चुवास्थित मंगलोदय माध्यमिक विद्यालयमा आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । यो प्रस्तावको परामर्शदाता भक्तपुरस्थित लोकन्थलीको अस्पिसियस इन्भारोमेन्टल कन्सल्ट प्रा.लि. रहेको छ ।