पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको राष्ट्रिय बाल शिक्षा सदन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले पनि आफ्नो ३७ औँ वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ ।
बिहीबार विद्यालयमा आयोजित कार्यक्रममा शैक्षिक सत्र २०८० मा विभिन्न विधामा उत्कृष्ट बनेका तथा कक्षागत रूपमा उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थीहरूलाई झन्डै सात सय वटा मेडलहरू वितरण गरिएको छ । उच्चतम हाजिरी, सरसफाइ, अनुशासन, हस्तलेखन, आन्तरिक तथा बाह्य परीक्षा लगायतमा नतिजा ल्याएका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको विद्यालयका प्रधानाध्यापक प्रकाश आचार्यले बताए । विद्यालयमा गठित स्काउट, बाल क्लब र जुनियर रेडक्रसका उत्कृष्ट विद्यार्थीहरूलाई पनि पुरस्कार सहित विद्यालयका विभिन्न क्याप्टेनहरूलाई अवार्ड र अन्य पुरस्कारहरू वितरण गरिएको छ ।
विद्यार्थीहरूलाई मेडल तथा पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले आफूले विगतदेखि उक्त विद्यालयको कार्यक्रमहरूको बारेमा जानकार रहेको बताउनुभएको छ । विद्यालयले पछिल्ला दिनहरूमा आफूलाई गुणस्तरयुक्त बनाउनका लागि गरिरहेको प्रयासहरू प्रशंसनीय रहेको भन्दै उहाँले विद्यालयका शिक्षकहरूको प्रतिभासमेत गण्डकी प्रदेशभरमा प्रतिस्पर्धा गर्नु खुसीको कुरा भएको उहाँको भनाई छ । पछिल्लो समयमा प्रविधियुक्त माध्यमबाट शिक्षण सिकाइका अभ्यासहरू भइरहेको भन्दै नगरप्रमुख जोशीले आधुनिक उपकरणहरूले मागे अनुसारको शिक्षणमा अबको सिकाई हुनुपर्ने उल्लेख गर्नुभयो ।
विद्यार्थीहरूले नृत्य, गीत, वक्तृता, विज्ञान प्रदर्शनी लगायतका कलाहरू प्रस्तुत गरेको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाई, कुश्मा नगरपालिकाका पूर्व उप प्रमुख सिता काफ्ले लामिछाने, कुश्मा बहुमुखी क्याम्पसका प्रमुख सुभाष पन्त, प्याब्सन गण्डकी प्रदेशका उपाध्यक्ष बलराम शर्मा, पर्वत प्याब्सनका अध्यक्ष विमल पौडेल, नमुना आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल इन्द्रमान खत्री लगायतले मन्तव्य राख्नुभएको थियो । सोही कार्यक्रममा लोक तथा दोहोरी गायक सूदीप क्षेत्रीले साङ्गीतिक प्रस्तुतिहरू पनि राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रकाश आचार्यले विद्यालयको प्रगति प्रतिवेदन र विद्यालय सञ्चालक समितिका अध्यक्ष रुद्र प्रसाद पौडेलले सञ्चालन प्रतिवेदन प्रस्तुत गर्नुभयो । विद्यालयका शिक्षक मिना खड्काले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत विद्यालय सञ्चालक समितिका कोषाध्यक्ष तिलकराम शर्माले दिनुभएको थियो । धन्यवाद मन्तव्य विद्यालय सञ्चालक समितिका उपाध्यक्ष इन्द्र कुमार विकल्पले दिनुभएको थियो । विद्यालय सञ्चालक समितिका अध्यक्ष रुद्र प्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।