पर्वत : पर्वतको मोदी गाउँपालिकाले राष्ट्र र समाजका लागि विशिष्ट योगदान पुर्याउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको शिर उच्च बनाउने विज्ञ, विद्वान, सेवा निवृत्त तथा सेवामा रहनुभएका विशिष्ट व्यक्तित्वहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं नेपाल सरकारका पूर्वमन्त्री माननीय पदम गिरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै गण्डकी प्रदेश सरकारका पर्यटन मन्त्री माननीय मित्रलाल बस्याल, प्रदेश सभा सदस्य माननीय भक्त बहादुर कुँवर, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष माननीय जुद्ध बहादुर गुरुङ, राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमल्सिना, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. खड्क केसी, वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा. डा. जागेश्वर गौतम, खोप विशेषज्ञ डा. झलक गौतम, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई, नेपाली सेनाका सेवा निवृत्त रथी श्री चित्र बहादुर गुरुङ र नेपाल प्रहरीका सेवा निवृत्त डिआइजी श्री ज्ञानेन्द्र बिक्रम महतजस्ता विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम अत्यन्त फलदायी र शिक्षाप्रद रहनुका साथै विभिन्न क्षेत्रमा अनुभव सँगालेका व्यक्तित्वहरूबाट मोदी गाउँपालिकाको समग्र विकास, शासकीय व्यवस्था सुधार र सेवा प्रवाह सुदृढीकरणका विषयमा महत्वपूर्ण सुझावहरू प्राप्त भएका छन्। गाउँपालिकाले यी सुझावहरूलाई अमूल्य सम्पत्ति मानी आगामी नीतिगत तथा विकास कार्यक्रमहरूमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूको संयुक्त पहलमा मोदी गाउँपालिकाको वार्षिक कार्यतालिका सहितको एकीकृत क्यालेन्डर समेत औपचारिक रूपमा विमोचन गरिएको थियो।
कार्यक्रममा सहभागी सम्पूर्ण विशिष्ट व्यक्तित्वहरूप्रति मोदी गाउँपालिका परिवारले हार्दिक आभार र कृतज्ञता व्यक्त गरेको छ।




