पर्वत : समस्यामा रहेका व्यक्तिहरूलाई कपडा उपलब्ध गराउन प्रदेश अस्पताल पर्वतमा निःशुल्क कपडा उपलब्ध गराउने ‘कपडा घर’ सञ्चालनमा आउने भएको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीका अनुसार अस्पतालले राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्डो) नेपालसँगको सहकार्यमा यो काम सुरु गरेको हो। जिल्लामा सक्रिय रहेका दर्जन बढी सामाजिक सङ्घ संस्था, आमा समूह, युवा क्लब लगायतले अभियान चलाएर ‘कपडा घर’ मा कपडा सङ्कलन गर्ने अहिले भइरहेको छ।
तत्कालका लागि साझेदारी संस्थाहरूको रूपमा पर्वत मिलन आमा समूह, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वत, पर्वत जेसिज, एकता युवा क्लब, सिलाई कटाई व्यवसायीहरू, सदरमुकाम कुश्मा बजारका कपडा व्यवसायीहरूले यो अभियानमा साथ दिइरहेका छन्। अभियानको अगुवाइ गरिरहेका यी क्लब तथा समूहहरूले आफ्ना सदस्य तथा आफूहरूले चिने जानेका व्यक्तिहरूको घरमा रहेका प्रयोगविहीन तर लगाउन योग्य कपडाहरू सङ्कलन गरेर ‘कपडा घर’ मा जम्मा पार्ने छन्।
यस्तै कुश्मा बजारमा कपडा पसल सञ्चालन गर्दै आएका व्यवसायीहरूको पसलमा बिक्री नभएर अलि लामो समयदेखि भण्डारणमा रहेका, सामान्य दाग वा कमजोरीका कारण बिक्री नभएका, ‘फेसन आउट’ हुँदा बिक्री हुन नसकेका, कपडाको आकार नमिल्दा भण्डारमा थुप्रिएका कपडाहरू पनि ‘कपडा घर’ जम्मा गरिने छ। यसरी जम्मा भएका कपडाहरू पैसाकै कारण कपडा किन्न नसकेका व्यक्तिहरूले निःशुल्क रूपमा प्राप्त गर्ने छन्। ‘कपडा घर’ अस्पतालमा रहने भए पनि त्यहाँ उपलब्ध हुने कपडाहरू अस्पतालमा आउनेहरूका लागि मात्रै नभएर आम नागरिकका लागि भएको अध्यक्ष गिरीले बताए।
लगाउन केही पुराना भएका लुगाहरू पुनः प्रशोधन गरेर डसना, सिरानी लगायतका सामग्रीहरू बनाउने चलन कुश्मा सहित पर्वतभर नै छ। लगाउन नमिल्ने अवस्थामा पुगेका कपडाहरूबाट नयाँ सामग्री बनाए पनि लगाउन मिल्ने लुगाहरू भने ‘कपडा घर’ घरमा हस्तान्तरण गर्न उनले अनुरोध गरे। त्यसरी आएका लुगाहरू अस्पतालमा नै ‘वासिङ मसिन’ धोएर ‘आइरन’ गरेर राखिने भएकोले पुराना कपडाहरू पनि आकर्षक र स्वस्थ बनाएर राखिने छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले फोहोरको रूपमा बाहिर फाल्ने गरिएका तथा सस्तो मूल्यमा बिक्री गर्ने गरिएका कपडाहरू सफा गरेर ल्याउन तथा सफा नगरेको भए पनि ‘कपडा घर’ ले नै सफा गर्ने बताए। ‘कपडा घर’ को व्यवस्थापन तथा नेतृत्वको लागि अभियानमा साथ दिएका सामाजिक संस्था तथा क्लबहरूले नै गर्ने छन्। अभियानमा सहभागी भएका संस्थाहरूलाई ‘फ्रेन्ड्स अफ प्रदेश अस्पताल पर्वत’ नाम दिइएको छ। यिनै क्ल्बहरूले आलोपालो व्यवस्थापनको काम गर्ने छन्।
समस्यामा रहेका, न्यून आए भएका, आर्थिक रूपमा विभिन्न भएका, जसलाई आवश्यकता भएको हुन्छ उसलाई निशङ्कोच लिन पाइने पर्वत जेसिजका अध्यक्ष अच्युत पौडेलले बताए। कसैलाई आवश्यकता भएको बेलामा घरमा थन्किएका कपडा माग्न पनि अप्ठ्यारो र दिन पनि अप्ठ्यारो हुने भए पनि ‘कपडा घर’ बाट अप्ठ्यारो नमानी लुगा लिन पाइने उनले बताए।





