प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा पर्वतको कुश्मा नगरपालिका–१ पाङको ततरकोटमा पोषणको लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश अस्पताल पर्वत र कुश्मा नगरपालिकासँगको समन्वयमा ततरकोटका छ देखि ५९ महिनासम्मका बालबालिकाहरूको पोषणको अवस्थाका बारेमा मूल्याङ्कन गरिएको हो । प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार कार्यक्रममा पाँच वर्ष मुनिका ६३ जना बालबालिकाको पोषणको अवस्थाका बारेमा मूल्याङ्कन गरिएको हो ।
स्थानीय जनप्रतिनिधि बलबहादुर अधिकारीको अध्यक्षता तथा प्रदेश अस्पताल पर्वतको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा परीक्षणको क्रममा यस अगाडि मोदी गाउँपालिकामा गरिएको मूल्याङ्कनको तुलनामा बालबालिकाहरूको अवस्था राम्रो देखिएको छ ।
लेखाजोखा गरिएकामध्ये दुई जना बालिकाहरूमा कडा कुपोषण, छ जना बालबालिकाहरूमा मध्यम खालको कुपोषण रहेको पाइएको छ । उनीहरू दुई जना बालिकाहरू र चार जना बालक रहेका छन् । यस्तै एक जना बालिकामा तौल बढी रहेको समस्या पाइएको छ । लेखाजोखा कार्यक्रमको सहजीकरण प्रदेश अस्पताल कुश्माका मेडिकल अधिकृत डा. सनम ढकाल, प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका पोषण फोकल व्यक्ति तेजप्रसाद सुवेदी, जनस्वास्थ्य अधिकृत अञ्जली पि.सी, कुश्मा नगरपालिकाकी स्वास्थ्यकर्मी दुर्गा सापकोटा, पर्वत अस्पतालको पोषण पुनर्स्थापना गृहमा कार्यरत कर्मचारीहरूले गर्नुभएको थियो ।
कार्यक्रममा पत्ता लागेको कुपोषित बालबालिकाहरूमध्ये कडा खालको समस्या रहेकाहरूलाई पोषण पुनर्स्थापना केन्द्रमा र मध्यम कुपोषणको समस्या रहेकाहरूलाई घरमा उच्च निगरानीमा राखेर पोषण व्यवस्थापन गर्न सिफारिस गरिएको छ ।





