बिहि, असार ५, २०८२
Thu, June 19, 2025

प्रदेश अस्पताल पर्वतमा सामाजिक परीक्षण 

जेष्ठ ६, २०८२
पर्वत : प्रदेश अस्पतालले पर्वतले चालु आर्थिक वर्ष २०८१/०८२ का सेवा प्रवाहको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
निरन्तर सुधार र आधुनिकीकरणको प्रक्रियामा अघि बढिरहेको प्रदेश अस्पताल आफ्नो इतिहासमा पहिलो पटक आफ्ना सेवा प्रवाहका गुनासाहरू आम सेवाग्राहीहरूबाट प्रत्यक्ष सुन्ने गरी सामाजिक परीक्षणको आयोजना गरेको हो । कार्यक्रममा सहभागी भएकामध्ये १९ जना सेवाग्राही तथा सरोकारवालाहरूले सोध्नुभएको प्रश्नहरूको जवाफ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले दिनुभएको थियो ।
त्यस क्रममा बोल्दै उहाँले अस्पताल प्रशासनले नीतिगत, संरचनात्मक र व्यवस्थापकीय सुधारका कामहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।  स्वास्थ्य बिमाको सेवा केन्द्र अस्पताल नजिक राखेर सहजता प्रदान गर्ने, ल्याबमा आकस्मिक बिरामीलाई रिपोर्ट जतिसक्दो छिटो दिने गरी व्यवस्थापन मिलाउने, सङ्घ र प्रदेशबाट आउने औषधी समयमा नआउँदा पनि औषधिको कमी हुन नदिन अस्पतालले छुट्टै स्रोतबाट व्यवस्थापन मिलाएर बिरामीलाई सेवा दिन प्रयास गरिने उहाँको भनाई छ । अस्पतालको सेवा गुणस्तर सुधार गर्न गरिएको काम, उपकरण विस्तार, सेवा पहुँचमा सुधार, संरचनात्मक विकास र व्यवस्थापनमा पारदर्शिता ल्याउन गरिएको पहलहरूबारे पनि डा. बास्तोलाले प्रस्तुति राख्नुभयो ।
यस्तै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले सङ्घ र प्रदेशको समन्वयमा अस्पताल विकास समितिको पहलमा भए पनि विशेषज्ञ डाक्टर थप गरेर विशेषज्ञ सेवा दिने र रिफर सङ्ख्या घटाउन पहल गर्ने,  स्वास्थ्यकर्मीहरू र अस्पतालका अन्य कर्मचारीहरूबाट बिरामीहरूलाई बिरामी मैत्री व्यवहारका लागि निर्देशन प्रदान गर्ने, अस्पताल सुधारका लागि सबै निकायहरूसँग समन्वय गर्ने बताउनुभयो ।
स्थानीय सहभागिता, पारदर्शिता र उत्तरदायित्वको सिद्धान्तमा आधारित उक्त सामाजिक परीक्षण कार्यक्रम लालटिन मिडियाको सहजीकरणमा सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता अस्पताल विकास समिति अध्यक्ष शङ्कर गिरीले गर्नुभएको थियो ।
कार्यक्रमका प्रश्नकर्ताहरूले आकस्मिक र ओपिडी सेवामा सुधारको आवश्यकता, आकस्मिक सेवामा निरन्तर एमबिबिएस चिकित्सक बस्नुपर्ने, ओपिडी सेवा लिनुपर्दा पालो कुर्दा ढिलाइ भएको, समन्वय अभावजस्ता समस्या भोग्नुपरेको बताएका थिए । विशेष गरी गम्भीर बिरामीको रिपोर्ट यथाशीघ्र पाउने व्यवस्था गर्नुपर्ने सुझाव प्रमुख रूपमा उठाइएको छ । यस्तै स्वास्थ्य बिमा कार्यक्रमको झन्झट, ल्याब सेवामा लागेको समय, औषधिको उपलब्धता र व्यवस्थापन, विशेषज्ञ सेवा अभाव र माग, डायलिसिस सेवा, महिला रोग विशेषज्ञ, बाल रोग विशेषज्ञजस्ता सेवाहरू थप गर्न सुझाव दिएका छन् । स्वास्थ्यकर्मीको व्यवहार र सेवाप्रतिको संवेदनशीलता, स्थानीय तहको भूमिका, अस्पतालको सुधार र सकारात्मक पहलप्रति सराहना, लगायतका विषयमा पनि कार्यक्रममा छलफल भएको छ ।
सामाजिक परीक्षण कार्यक्रमले अस्पताल र जनसमुदायबिचको दूरी घटाउन, पारदर्शिता बढाउन र उत्तरदायित्व सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलेको, सहभागीहरूले उठाएका समस्याहरू अस्पतालको सुधार प्रक्रियाका लागि मार्गदर्शक बन्ने, अस्पतालले सुझावहरूको कार्यान्वयनमार्फत सेवा गुणस्तरमा उल्लेखनीय सुधार ल्याउन सक्ने,  पर्याप्त औषधिको व्यवस्था हुनुपर्ने, स्वास्थ्य बिमा सेवा सहजताका लागि बिमा कार्यालय अस्पतालसँगै राख्नुपर्ने,   स्थानीय तहहरूले अस्पतालमा सहयोग बिस्तार गर्नुपर्ने, काउन्टरमा बस्ने कर्मचारीहरूले बिरामीलाई सेवाग्राही मैत्री व्यवहार गर्नुपर्ने, सरल र छिटोछरितो सेवामा ध्यान दिनुपर्ने विषय पनि कार्यक्रममा उठेका छन् ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive