बुध, अशोज २२, २०८२
Wed, October 8, 2025

सामुदायिक सेवा केन्द्र कुश्माको नयाँ समितिको शपथ ग्रहण सम्पन्न

जेष्ठ १२, २०८२

पर्वत : सामुदायिक प्रहरी सेवा केन्द्र अन्तर्गत कुश्माको शिवालय चोकमा रहेको सेवा केन्द्र नयाँ कार्यसमितिको शपथ ग्रहण सम्पन्न भएको छ ।
शनिवार जिल्ला प्रहरी कार्यालय पर्वतमा आयोजना गरिएको एक कार्यक्रमकाबीच आगामी तीन बर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा चयन भएका समितिका पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो । निर्वाचन समितिले सर्वसम्मतिमा अध्यक्षमा मानकुमारी गिरी, उपाध्यक्षमा सरस्वती शर्मा जिज्ञासु र सरस्वती भण्डारी, सचिवमा सरोज पौडेल, कोषाध्यक्षमा मिना बानिया र सदस्यहरूमा नयानाथ गौतम, संविधान गिरी, नरेश शर्मा, तारा गिरी र विमल शर्मालाई चयन गरेको हो ।
शनिवार उपलब्ध रहेका पदाधिकारी तथा सदस्यहरूलाई अधिवक्ता तथा सेवा केन्द्रका पूर्व अध्यक्ष भोलानाथ शर्माले शपथ ग्रहण गराउनुभएको हो । बाँकी रहेका पदाधिकारी तथा सदस्यहरूले केन्द्रकी अध्यक्ष गिरीले शपथ ग्रहण गराउने छिन् । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टले नयाँ बनेको कार्यसमितिले समुदायका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । मुलुकमा स्थापना भएका सबै सामुदायिक सेवा केन्द्रहरूले सक्रियतापूर्वक काम गर्न नसकिरहेको बेलामा पनि कुश्माको सेवा केन्द्रले भने सक्रियताका साथ कार्यसम्पादन गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
शपथ ग्रहण कार्यक्रममा सेवा केन्द्रका पूर्व अध्यक्ष शिव प्रसाद सुवेदी, निवर्तमान अध्यक्ष राजन जोशी, निर्वाचन समिति सदस्य परशुराम पुरी, प्रहरी निरीक्षकहरू रामप्रसाद सापकोटा र सुमित श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।  निर्वाचन समितिका अनुसार कार्यसमितिमा राख्न बाँकी रहेका पाँच जना सदस्य पदमा नयाँ कार्यसमितिको बैठकले आपसी छलफलबाट टुङ्गो लगाएर मनोनीत गर्ने छ ।
सेवा केन्द्रको अध्यक्ष पदमा मानकुमारी गिरी र तुप्ला शाक्यको दावेदारी रहेको थियो । उनीहरूबिच सहमति हुन नसकेपछि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र प्रहरी नायव उपरीक्षक रविन बिष्टको निर्णयमा सबैको सहमति रहने निर्णय भएको थियो । सेवा केन्द्रकी नवअध्यक्ष गिरीले आफ्नो तीन बर्षे कार्यकालमा समुदाय र प्रहरीबिचको समन्वयलाई अझै सरल बनाउने गरी काम गर्ने बताएकी छिन् । केही बजेटको व्यवस्थापन गरी सेवा केन्द्रको भवनको आन्तरिक व्यवस्थापन सहित संरचना निर्माण गर्नुपर्ने अवस्थामा सेवा केन्द्र रहेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive