पर्वत : प्रदेश अस्पताल पर्वतको अस्पताल व्यवस्थापन समितिको अध्यक्षको रूपमा तीन बर्षे कार्यकाल पूरा गर्नुभएका शङ्कर गिरीले आफ्नो पहलमा सञ्चालन तथा सम्पन्न भएका कामहरू सार्वजनिक गर्नुभएको छ ।
आफ्नो कार्यकाल सकिएसँगै आइतबार प्रदेश अस्पताल पर्वतमा पत्रकार सम्मेलन गरी उहाँले आफ्नो पदावधिमा भएका कामहरू सार्वजनिक गर्नुभएको हो । जसमा पूर्वाधार सुधार तथा निर्माणतर्फ स्रोत सुनिश्चित नभएका नौ वटा सटर सहितको भवनको निर्माण सम्पन्न, सिसि क्यामेरा जडान र पर्खाल निर्माणद्वारा बलियो सुरक्षा, पहिलो पटक अस्पतालमा सुरक्षा गार्ड, अटो जेनेरेटेड विद्युत् आपूर्ति, खानेपानी व्यवस्थापन, आपत्कालिक साइरन प्रणाली, अस्पतालभित्रका ढलान सडकहरू लगायत रहेका छन् ।
सेवा सुधार तथा नवप्रवर्तनतर्फ न्यानो कपडा घरको स्थापना, स्तनपान कक्ष निर्माण, टोकन प्रणाली, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरूलाई विशेष व्यवस्था, निःशुल्क सेनीटरी प्याड तथा भेन्डिङ मसिन, प्रशोधित शुद्ध पिउने पानी, टोल फ्री नम्बर रहेका छन् । यस्तै क्यान्टिन स्थानान्तरण, आमाघर र कुरुवा घर निर्माण, आरामदायी बसाइँको व्यवस्थापन लगायतका कामहरूलाई पनि उत्कृष्ट ५० कामहरूको सूचीमा समावेश गरिएको छ ।
डिजिटल प्रणाली र प्रविधिमा सुधार अन्तर्गत इएमआर प्रणाली लागू भएको, इबिडिङ प्रणालीबाट औषधि खरिद भएको, क्यु.आर कोड मार्फत अस्पतालको जानकारी लिन सकिने, पूर्ण डिजिटल माध्यमको प्रयोग, डिजिटल स्वास्थ्य कार्ड उपलब्ध भएको, १२ घण्टा ओपिडी सेवा खुल्ला रहेको, विस्तारित हेमोडायलिसिस सेवा, फिजियोथेरापी सेवालाई उपलब्धिको रूपमा राखिएको छ । यस्तै दन्त रोग सेवाको बिस्तार, ल्याब सेवाको बिस्तार, पोर्टेवल एक्स रे मसिन स्थापना, आकस्मिक सेवा आठ शय्यामा विस्तार तथा मापदण्ड अनुसारका उपकरण जडान, रिफिल प्रणालीको अक्सिजन प्लान्ट, अस्पताल व्यवस्थापन समितिमार्फत बाल रोग विशेषज्ञ, डेन्टल सर्जन सहित ३१ जना कर्मचारीहरूको व्यवस्थापन पनि महत्त्वपूर्ण कार्यक्रमहरू रहेका अध्यक्ष गिरीले बताउनुभयो ।
इन्सुलेटेड विद्युतीय तार, निःशुल्क स्वास्थ्य शिविर, रक्तसञ्चार केन्द्र, मुख स्वास्थ्य कार्यक्रम, विद्यार्थीहरूको निःशुल्क रक्त समूह पहिचान, शव वाहन ल्याउन नयाँ सम्झौता, पात्रो प्रकाशन, न्यूनतम सेवा मापदण्डमा गण्डकीमा नै उत्कृष्ट, कर्मचारीहरूको सेवा सुविधामा वृद्धि, सामाजिक सुरक्षा कोषमा आबद्ध हुने प्रक्रिया लगायतका कामहरू आफ्नो कार्यकालमा सञ्चालन भएको उहाँको भनाई छ ।
गिरीको तीन बर्षे कार्यकाल पूरा भएसँगै अब अस्पतालको व्यवस्थापन समितिको नयाँ अध्यक्षको जिम्मेवारी जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम बि.क.ले सम्हाल्नुहुने छ । गण्डकी प्रदेश सरकारको कार्यविधिमा प्रदेश मातहतका अस्पतालका अध्यक्ष जिसस प्रमुख बन्ने व्यवस्था रहेको छ ।