पर्वत : सातौं महिला दिवसको अवसरमा जलजला गाउँपालिका–७ स्थित कालीगण्डकी रिसोर्टको सभाहलमा एक दिवसीय सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम जलजला गाउँपालिकाको आयोजनामा, जिल्ला प्रहरी कार्यालय पर्वतको सहकार्य र प्रहरी चौकी वारीबेनी तथा मिलनचोकको समन्वयमा सम्पन्न भएको हो । वडाध्यक्ष टुंगनाथ शर्माको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष दिपक आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महिला र बालबालिकाको अधिकार, हिंसा विरुद्धको कानुनी प्रावधान, यौन दुव्र्यवहार, साइबर अपराधलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षणका प्रमुख प्रशिक्षक प्रहरी नायव निरीक्षक पूर्णिमा थापाले बालबालिका ऐन २०७५ अन्तर्गत बालबालिकाको कानुनी अधिकार, सम्भावित हिंसा र त्यसबाट जोगिने उपायबारे जानकारी गराउनु भएको थियो । सामाजिक अभियन्ता जमुना आचार्यले महिलाको अधिकारलाई कर्तव्यसहित व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । प्रहरी चौकी वारीबेनीका प्रहरी वरिष्ठ नायव निरीक्षक राजेश मल्ल ठकुरी, प्रहरी चौकी मिलनचोकका प्रहरी सहायक निरीक्षक रोशन पौडेल, सामाजिक व्यक्तित्व दुर्गा बहादुर नेपाली, बाल अधिकार समितिका प्रतिनिधि नविन जि.सी. लगायतले समेत आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा लामाखेत आमा समूह, इमोरल अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय, लुङ्दी आधारभूत विद्यालयका शिक्षक तथा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । गाउँ शिक्षा समिति सदस्य तथा नेपाल दलित संघ जलजला अध्यक्ष बुद्धि परियारले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा उपाध्यक्ष दिपक आचार्यले बालबालिकालाई अध्ययनमा केन्द्रित रहँदै हिंसा र दुव्र्यवहारको प्रतिकार गर्ने चेतना विकास गर्न प्रेरणा दिनुभयो ।
वडाध्यक्ष टुंगनाथ शर्माले सहभागी सबैलाई धन्यवाद दिँदै स्थानीय तह सधैं यस्ता सामाजिक सचेतनामूलक कार्यक्रममा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
सातौं महिला दिवसको अवसरमा जलजलामा सचेतनामूलक प्रशिक्षण सम्पन्न
जेष्ठ १८, २०८२




