मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

ट्राफिक सचेतना फैलाएर दुर्घटना घटाउन पर्वतमा सुरु भयो ‘ट्राफिक सप्ताह’

जेष्ठ २६, २०८२

पर्वत : ट्राफिक नियम सम्बन्धी सचेतना अभिवृद्धि गर्दै सवारी दुर्घटना न्यूनीकरणका गर्ने उद्देश्यले गण्डकी प्रदेशमा ‘ट्राफिक सप्ताह–२०८२’ सुरु भएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडाले गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायतका स्थानीय तहका तथा अन्य सरोकारवाला निकायहरूसँग सहकार्य गरेर सप्ताह सुरु गरेको हो। ‘‘जिम्मेवार चालक ‘म’, जिम्मेवार यात्रु ’म’, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’’ भन्ने आदर्श वाक्यका साथ प्रदेशका ११ वटै जिल्लाहरूमा साताव्यापी अभियानहरू सञ्चालन गरिने छन्। ट्राफिक नियमको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा दुर्घटना न्यूनीकरण गर्ने अभिप्रायका साथ ट्राफिक सप्ताह सुरु भएको हो।

यो कार्यक्रमले सरोकारवाला सरकारी संयन्त्र तथा सरोकारवाला निकायबीच समन्वय सहकार्य एवं साझेदारी प्रवर्धन गर्ने र जनसहभागिता अभिवृद्धि गर्ने विश्वास राखिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडाले बताएको छ।

साताव्यापी रूपमा कार्यक्रम सञ्चालन गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले सबै जिल्लाका लागि कार्यक्रमहरू तोकेर आएको बताए। उनका अनुसार सप्ताहको पहिलो दिन ११ वटै जिल्लाका सदरमुकाममा झाँकी सहित प्रभातफेरि निकालेर सप्ताहको उद्घाटन हुने छ।

यो दिनमा सार्वजनिक सवारी साधनहरूको ढोकामा सिट क्षमता सहितको स्टिकर टाँस गरिँदै छ।

दोस्रो दिन सोमबार स्वयंसेवक परिचालन गरी प्रशिक्षण प्रदान गर्ने, जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतका पोस्टबाट पर्चा पम्प्लेट वितरण गर्ने, स्वयंसेवक परिचालन गरी सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, गल्ती गर्ने चालकलाई सम्झाई बुझाई गर्ने, अव्यवस्थित ‘पार्किङ’ हटाउने, धुवाँ धुलो बाट बच्न मास्क वितरण गर्ने कार्यक्रम छ।

तेस्रो दिन मङ्गलवार ग्रामीण सडक लक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, छत तथा हुटका यात्रुहरूलाई प्रशिक्षण दिने, सिट क्षमता अनुगमन, भाडा दर अनुगमन, आरक्षण सिट कार्यान्वयन अनुगमन गरिने छ।

सप्ताहको चौथो दिन बुधवार सडक प्रयोगकर्ता प्रशिक्षण कार्यक्रम, विद्यार्थीहरूलाई प्रशिक्षण, ट्राफिक सचेतना कार्यक्रम, सरकारी कर्मचारी, सेना, सशस्त्र प्रहरीलाई सचेतना कार्यक्रम, गाउँ–गाउँमा ट्राफिक सचेतना कार्यक्रम आयोजना हुने छन्। पाँचौँ दिन चालक परिचालक प्रशिक्षण कार्यक्रम, जुत्ता लगाए नलगाएको, पोसाक प्रयोग सम्बन्धी प्रशिक्षण, ओभरटेक  र आरक्षण सम्बन्धी प्रशिक्षण प्रदान गरिने छ।

छैटौँ दिनमा चालक सहचालकहरूको सामान्य स्वास्थ्य चेकजाँच गर्ने तथा कुनै रोगको नियमित औषधी सेवन गरेको भए÷नभएको जानकारी लिएर नियमित औषधी सेवन गर्न प्रोत्साहन गर्ने कार्यक्रम रहेको छ। सोही दिन सवारीको यान्त्रिक परीक्षण गर्ने, मेटिएका ‘नम्बर प्लेट’ मा सुधार गर्ने र रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको छ। सप्ताहको अन्तिम तथा सातौँ दिन शनिवार प्रत्येक जिल्लाका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया तथा जिल्लाको मुख्य चोकमा दीप प्रज्वलन गरेर ‘ट्राफिक सप्ताह २०८२’ को समापन गर्ने तालिका छ।

बढ्दै गएको सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको अभाव, सडक संरचना, सवारी नियम तथा ट्राफिक सङ्केत सम्बन्धी सडक प्रयोगकर्ताहरूमा रहेको चेतनाको स्तर, ज्ञान भएकाहरूबाट समेत ट्राफिक नियमको उल्लङ्घन गर्ने प्रवृत्तिका कारण ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल एवं चुनौतीपूर्ण बन्दै गएको छ। सहरी विकासको अनुपातमा सडक विस्तार र सडक पूर्वाधारहरू निर्माण हुन नसक्नु, सार्वजनिक यातायात क्षेत्रमा अस्वस्थ एवं अवैज्ञानिक प्रतिस्पर्धाको कारण सवारी व्यवस्थापनमा चुनौती थपिँदै गएको ट्राफिक प्रहरीले बताएको छ।

हालसम्मका सवारी दुर्घटनाहरूलाई विश्लेषण गर्दा सवारी चालकको लापरबाही, ट्राफिक नियम पालना गर्नमा उदासीनता, चेतनाको कमी, मापदण्ड रहित सडक संरचना, सवारी साधनको खराब यान्त्रिक अवस्था जस्ता विषयहरू मुख्य कारक तत्त्वको रूपमा रहेको पाइएको छ। जिम्मेवार निकायहरूले पर्याप्त ध्यान नदिनु पनि बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि चुनौतीपूर्ण बनेको छ।

ट्राफिक सप्ताह सम्पन्न भएपछि सवारी चालक, यात्रु, पैदल यात्री, सरोकारवाला सबैमा आ–आफ्नो जिम्मेवारी, दायित्वबोध हुने ट्राफिक प्रहरीको विश्वास छ। सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण गरी धनजनको क्षति कम गर्नमा सरोकारवाला बीच समन्वय, सहकार्य एवम् साझेदारी प्रवद्र्धन हुनुका साथै सामूहिक भावनाको विकास हुने छ। सवारी चालक, यात्रु, पैदल यात्री, विद्यार्थी, अभिभावक, व्यवसायी लगायत सरोकारवालामा सचेतना अभिवृद्धि हुन गई आगामी दिनमा सवारी दुर्घटना न्यूनीकरणको उद्देश्य हासिल गर्नमा योगदान पुग्ने प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङले बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive