बुध, माघ २८, २०८२
Wed, February 11, 2026

गर्मी बढेपछि समस्यामा विद्यार्थी, घर बाहिर काम गर्नेहरूलाई पनि सास्ती

जेष्ठ २८, २०८२

पर्वत : बढ्दो गर्मीकाबीच चार दिनसम्म पनि वर्षा हुन नसक्दा घर बाहिर काम गर्नेहरू तथा विद्यार्थीहरू बढी प्रभावित भएका छन्।

दिउँसोको समयमा सबैभन्दा बढी हुने र त्यही समयमा बालबालिकाहरू विद्यालयमा रहने तथा श्रमिकले खुला आकाशमुनि काम गर्दा पसिना निकाल्दै दुःख गर्नुपर्ने बाध्यता भएको छ। अध्ययनका लागि विद्यालयमा जानुपर्ने र पेट पाल्नकै लागि घाम पानी नभनी दिनहुँ काम गर्नुपर्नेहरू समस्यामा परेका छन्। गर्मीले विद्यार्थीहरू कक्षाकोठाबाट बाहिर निस्कन सक्ने अवस्था नरहेको र निस्केकाहरू पनि एक छिनमा पसिनाले भिज्ने गरेका छन्।

विद्यालयमा पुगेका बालबालिकाहरूलाई खेल्न वा अन्य क्रियाकलापका लागि खुल्ला मैदानमा निकाल्न सक्ने अवस्था नरहेकोले ‘फ्यान’ चलाएर शीतल बनाउने प्रयास विद्यालयहरूले गरिरहेका छन्। पर्वत जिल्ला अन्य धेरै जिल्लाको तुलनामा शितलो हुने जिल्लाको रूपमा रहँदा पनि गर्मी भने उच्च भएको सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश रिजालले बताए।

‘गर्मीकै कारण विद्यालय नै बन्द गरिहाल्नुपर्ने अवस्था त आएको छैन। तर उच्च तापक्रमले विद्यार्थीहरूलाई सजिलो पनि भएको छैन। अब पनि वर्षा भएन भने त कठिनाइ बढ्दै जान्छ’, उनले भने, ‘विद्यार्थीहरूलाई समस्या नहोस् भनेर हरेक कक्षा फ्यान चलाउने, प्रशस्त मात्रामा पानी पिउन लगाउने र बाह्य शैक्षिक क्रियाकलापहरू नगर्ने गरेर सुरक्षित रहने प्रयास गरिएको छ।’

जिल्लामा नै सबैभन्दा धेरै करिब १२ सय विद्यार्थी अध्ययनरत उक्त विद्यालयको ‘ग्राउन्ड’ मङ्गलवार दिउसो सुनसान देखिन्थ्यो। लगभग सबै विद्यार्थीहरू उपस्थित भएको भए पनि उनीहरू सबैलाई कक्षाकोठामा बस्न अनिवार्य गरिएको छ।

गर्मीको बेलामा विद्यार्थीहरूलाई सुरक्षित राख्नको लागि केही सावधानीहरू अपनाउनुपर्ने प्रदेश अस्पताल पर्वतका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमन्त बास्तोलाले बताए। विद्यार्थीहरूलाई पर्याप्त मात्रामा पानी पिउन प्रोत्साहित गर्ने, स्वस्थ पानी मात्रै पिउने, प्रत्येक ‘पिरियड’ मा पानी पिउनका लागि सम्झाउने, मौसमअनुसार हल्का, सुतिको र हावा छिर्ने पोसाक लगाउने, कालो र बाक्लो कपडा लगाउन नदिने लगायतका सावधानीहरू अपनाउनुपर्ने उनको भनाइ छ।

दिउँसोको घामबाट जोगिनको लागि बिहान ११ बजेपछि दिउँसो तीन बजेसम्मको समय विशेष तातो हुने भएकाले खेलकुद वा बाहिरी गतिविधि नगर्ने, खर्बुजा, तरबुजा, कागती पानी जस्ता झोलिलो पदार्थ पिउने, हात धुने बानीको अभ्यास गराउने, पसिना धेरै आउने भएकाले नित्य नुहाउने र सफा कपडा लगाउने बानी बसाल्नुपर्ने डा. बास्तोलाले सुझाए। अत्यधिक पसिना आउने, टाउको दुख्ने, झिमझिम लाग्ने, बान्ता आउने, थकाइ लाग्नेजस्ता लक्षण देखिए तुरुन्त अभिभावक वा स्वास्थ्यकर्मीलाई जानकारी दिनु पनि पूर्व सावधानी हो।

दैनिकी चलाउनकै लागि बाहिर निस्केर काम गर्नुपर्ने बाध्यता रहेकाहरू पनि गर्मीले समस्यामा परेका छन्। गर्मी छल्न घरमा बस्दा आम्दानी गर्न नसकिने र बाहिर निस्केर काम गर्दा पसिनाले निथ्रुक्क हुने, आँखाले हेर्न गाह्रो हुने, शरीरमा पानीको अभाव हुने लगायतका समस्याहरू भइरहेको श्रमिकहरू बताउँछन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive