पर्वत : पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा नगरपालिकाभित्रका विज्ञान तथा प्रविधि विषयका शिक्षकहरूलाई पाठ्यक्रम प्रवोधिकरण तालिम प्रदान गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्वतको आर्थिक सहयोगमा पाठ्यक्रम प्रवोधिकरण सहित मूल्याङ्कन प्रणालीको बारेमा सहजीकरण गरिएको हो । विद्यालयका कक्षा आठ र १० मा अध्यापनरत करिब ४० जना शिक्षकहरूको सहभागिता रहेको कार्यक्रममा रोष्टर प्रशिक्षकको रूपमा अमरसिंह माध्यमिक विद्यालय पोखराका सुदीप आचार्यले सहजीकरण गर्नुभएको हो ।
कार्यक्रममा पाठ्यक्रमले निर्दिष्ट गरेका उद्धेश्यहरु विद्यार्थीहरूले प्राप्त गर्ने सक्ने बनाउन पाठ्यक्रमको व्यवहारिक कार्यान्वयनको बारेमा सिकाइको छ । पाठ्यक्रमले अपेक्षा गरेको ए थरी उद्देश्य भएको भए पनि शिक्षकहरुले पाठ्यक्रमको कार्यान्वयन गर्दा फरक उद्देश्यमा पुगेर अध्यापन गर्दा राज्यले अपेक्षा गरे अनुसारका दक्ष जनशक्ति उत्पादन हुन नसकेको प्रशिक्षक आचार्यले बताए । पाठ्यक्रमले व्यवहारिक सिकाई उपलब्धिमा जोड दिएको भए पनि हाम्रा कक्षाहरू भने सैद्धान्तिक रूपमा मात्रै चलिरहेको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले विगतमा शिक्षकहरूको लागि धेरै तालिम र सुपरिवेक्षण हुने गरेको भए पनि आजभोलि भने त्यो क्रम घट्दै गएको बताए । पाठ्यक्रममा उल्लेख भएका शिक्षण विधि मात्रै नभएर शिक्षकहरू आफै शिक्षण विधिका उत्पादक भएकोले शिक्षकहरुले अपनाउने विधि व्यवहारिक हुने उनको भनाई छ । एउटा क्षेत्रमा असफल भएको विद्यार्थी अर्को कुनै क्षेत्रमा पूर्ण सफल हुने भएकोले कोही पनि बालबालिकालाई सफल र असफलको रूपमा व्याख्या गर्न नहुने तिवारीको भनाई छ ।
यस्तै शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले पाठ्यक्रममा तोकिएका उद्धेश्यहरु पूरा गर्नका लागि शिक्षकहरू पनि खोजमूलक बन्नुपर्ने आवश्यकता रहेको बताए । पछिल्लो समय प्रविधिमैत्री बन्दै गइरहेको अवस्थामा बालबालिकाहरू शिक्षकहरू भन्दा बिद्यार्थीहरु अगाडि दौडिने अवस्था आएको भन्दै उनले शिक्षकहरुले प्रविधिको अधिकतम सदुपयोग गर्नुपर्ने सुवेदीको सुझाव छ ।
शाखा प्रमुख तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षा अधिकृत सुवेदीले राखेका थिए । कार्यक्रममा कुश्मा नगरपालिकाको शिक्षा समिति सदस्य मेघनाथ सुवेदी, विज्ञान शिक्षक समाज पर्वतका अध्यक्ष प्रोमोद सुवेदी लगायतको पनि सहभागिता रहेको थियो ।
कुश्माका विज्ञान शिक्षकलाई पाठ्यक्रम प्रवोधिकरण तालिम
जेष्ठ ३०, २०८२




