पर्वत : लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा पर्वत जिल्लामा प्रभातफेरी र्याली तथा समापन कार्यक्रम सम्पन्न भएको छ। “स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता: लागू औषध दुरुपयोग विरुद्ध ऐक्यबद्धता” भन्ने मूल नाराका साथ एक हप्तासम्म सञ्चालन गरिएका चेतनामूलक गतिविधिहरूको आज समापन गरिएको हो।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सामाजिक विकास कार्यालय पर्वतको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले गर्नुभएको थियो। प्रभातफेरी र्याली बिहान ७:३० बजे जिल्ला प्रशासन कार्यालयको प्राङ्गणबाट सुरु भई विभिन्न ब्यानर र सन्देशमूलक प्ले कार्डसहित बजार परिक्रमा गर्दै पुनः सोही स्थानमा समापन समारोहमा परिणत भएको थियो।
कार्यक्रममा सरकारी तथा गैह्र-सरकारी कार्यालय प्रमुखहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरू, सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू, प्रहरी कर्मचारीहरू, जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरू, बुद्धिजीवी र भद्रभलाद्मीहरू लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत लागू औषधको दुरुपयोगले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा पार्ने नकारात्मक प्रभावबारे जनचेतना फैलाउने प्रयास गरिएको आयोजक निकायले जनाएको छ। सहभागीहरूले लागू औषध विरुद्धको अभियानमा एकजुट भई समाजलाई सुरक्षित, स्वस्थ र सभ्य बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।