मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

एसइईको ग्रेड वृद्धिमा सहभागी हुनेहरूलाई मोदीको निःशुल्क तयारी कक्षा

असार २१, २०८२

पर्वत : जिल्लाको मोदी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीहरूका लागि निःशुल्क रूपमा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

हालै प्रकाशन भएको नतिजामा अपेक्षित नतिजा हासिल गर्न असमर्थ भएका विद्यार्थीहरूलाई लक्षित गरेर ग्रेड वृद्धि परीक्षाको लागि निःशुल्क रूपमा कक्षा सञ्चालन गर्ने निर्णय गाउँ कार्यपालिकाले गरेको शिक्षा अधिकृत दिनेश शर्माले बताए । पालिकाभरका विद्यार्थीहरूको लागि सहज हुने हिसाबले मोदी गाउँपालिका–६ तिलाहारमा रहेको नवजागृत माध्यमिक विद्यालयमा असार २२ गतेबाट कक्षा सञ्चालन गर्ने तयारी गाउँपालिकाले गरेको छ ।

ग्रेड वृद्धि परीक्षा सुरु नुहुने बेलासम्म उनीहरूलाई दैनिक बिहान चार घण्टा हरेक विषयका अध्यापन गर्ने गरी तयारी गरिएको र यसले सबै विद्यार्थीहरूलाई ‘ग्रेडेड’ बनाउन सहयोग गर्ने शिक्षा अधिकृत शर्माले बताए । ‘यस कार्यक्रमले कमजोर नतिजा ल्याएका विद्यार्थीहरूलाई ग्रेड सुधार गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ । हाम्रो सानो प्रयासले मात्रै पनि कोही विद्यार्थीको जीवनमा महत्त्वपूर्ण काम गरिरहेको हुन्छ’, उनले भने, ‘शिक्षा नै हरेक कुरा पहिलो जड हो । शिक्षामा सुधार ल्याउन सकिएन भने अरू कुनै पनि कुरामा सुधार ल्याउन कठिन हुन्छ । असल नागरिक बनाउन सकियो भने हरेक क्षेत्रको सुधार बिस्तारै आफै हुँदै जान्छ ।’

‘ग्रेड’ वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीहरूको लागि तयारी कक्षाहरू सञ्चालनमा सम्बन्धित विद्यालयहरूले समेत खासै चासो राखेको पाईँदैन् । ‘ग्रेड’ वृद्धि परीक्षा सुरु हुने बेलासम्म विद्यार्थीहरू आफैले जे जति तयारी गर्न भ्याउँछन् त्यसैको आधारमा परीक्षामा सहभागी हुने गरेका छन् । कतिपय विद्यालयहरूले चासोका साथ तयारी कक्षाहरूले चलाउने गरेको भए पनि विद्यार्थीकै अनिच्छाका कारण त्यस्ता कक्षाहरूले निरन्तरता पाउन सकेका छैनन् ।

तर मोदी गाउँपालिकाले भने ‘ग्रेड’ वृद्धि परीक्षामा विद्यार्थी सहभागी गराउन लागेका स्थानीय तहका हरेक माध्यमिक विद्यालयहरूसँगको समन्वयमा यो कार्यक्रम ल्याएको हो । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत वडाध्यक्षहरू सहित विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरू सहितको भएको बैठकले कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाइका अनुसार मोदी गाउँपालिकाबाट परीक्षामा सहभागी भएकामध्ये ५१ दशमलव ३९ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन् । पालिकाभरमा रहेका १२ वटा विद्यालयबाट कुल दुई सय ५१ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएकोमा एक सय २९ जना उत्तीर्ण भएका छन् । ‘नन ग्रेड’ मा पर्नेहरूको सङ्ख्या एक सय १७ जना रहेको छ ।

गाउँपालिकाभरमा सबैभन्दा धेरै देउपुर नमुना माध्यमिक विद्यालयबाट ८६ दशमलव ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उक्त विद्यालयबाट १५ जना विद्यार्थीहरूले एसइई दिएकोमा १३ जना उत्तीर्ण र दुई जना ‘नन ग्रेड’ मा परेका छन् । यस्तै सबैभन्दा कमजोर नतिजा तुलोदय माध्यमिक विद्यालयको देखिएको छ । उक्त विद्यालयबाट आठ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएकोमा एक जना पनि उत्तीर्ण हुन सकेका छैनन् ।

अन्य विद्यालयहरू नवजागृत मा.वि.बाट ५४, पशुपति मा.वि.बाट ३३, महेन्द्र शिखरी मा.वि.बाट ३५, लेस्पार मा.वि.बाट ३५, भुक देउराली मा.वि.बाट ४२, जननेत्र मा.वि.बाट ६८, जनसिद्ध मा.वि.बाट ४४, हिमालय मा.वि.बाट ३७, सरस्वती मा.वि.बाट ५५ र नवज्योति मा.वि.बाट ६० प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका इकाई प्रमुख चपाइले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive