असार २३ – पर्वत जिल्लाको कुश्मा बन्जीभन्दा ठीक मुनि रहेको गोपाङघाट क्षेत्रमा सुक्खा पहिरो जाँदा विद्युत सेवा अवरुद्ध भएको छ। असार २३ गते दिउँसो करिब ११ बजेतिर गएको पहिरोले ३३ केभी फलेबास फिडर र ११ केभी फलेबास फिडरका विद्युत पोलहरूमा क्षति पुर्याएको नेपाल विद्युत प्राधिकरण, पर्वत वितरण केन्द्रले जनाएको छ।
विद्युत लाइनमा क्षति पुगेसँगै फलेबास नगरपालिका अन्तर्गत मुडिकुवा, रुग्दी, शंकरपोखरी, देविस्थानको रहाले, खानीगाउँको चिदिपानी, थापाठाना र भाँगरको उल्लेरी लोड सेन्टर क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको प्राधिकरणले जानकारी दिएको छ।
हाल क्षतिग्रस्त पोलहरूको मर्मत कार्य तीव्र रूपमा भइरहेको र कार्य सम्पन्न भएपछि मात्र विद्युत सेवा पुनः सुचारु हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले यस घटनाबाट प्रभावित भएका उपभोक्ता वर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै, धैर्य र सहयोगका लागि आग्रह गरेको छ।




