पर्वत : पर्वत जेसिजको आयोजनामा हुन लागेको ‘पर्वत जेसिज कप–२०२५ सेभेन ए साइड फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ।
जेसिजका विभिन्न शाखा वा जेसिज बाहिरका खेलकुद क्लब, युवा क्लब, समूह वा व्यक्तिगत रूपमा निर्माण भएका समूहले समेत प्रतिस्पर्धा गर्न पाउने खुल्ला प्रतियोगितामा २५ समूहले प्रतिस्पर्धा गर्ने पर्वत जेसिजका अध्यक्ष अच्युत पौडेलले बताए। पर्वत जेसिजका कामहरूलाई जिल्लाभित्रमा मात्रै सीमित नगरेर अन्य जिल्लाका जेसिज तथा जेसिज बाहिरका सङ्घ संस्था क्लबहरूसँग जोडिनका लागि यो प्रतियोगिता आयोजना गरिएको हो।
जेसिजमा आबद्ध रहेका सदस्यहरू तथा देशभित्र र बाहिर रहेका विभिन्न सामाजिक व्यक्तिहरूका सहयोगमार्फत भदौको ५, ६ र ७ गते हुने प्रतियोगिताको विजेताले एक लाख एक हजार १११ रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेता बन्ने समूहले ५१ हजार १११ रुपैयाँ प्राप्त गर्ने छ। यो पुरस्कार राशि पर्वतमा आयोजना भएका हालसम्मका फुटबल प्रतियोगिताहरूमध्येको सर्वाधिक भएको अध्यक्ष पौडेलको दाबी छ। यो प्रतियोगिता पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको बडागाउँचौर खेल मैदानमा आयोजना हुँदै छ।
प्रतियोगितामा प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ घोषणा गरिने, सबैभन्दा बढी गोल गर्ने खेलाडी, ‘प्लेयर आफ द टुर्नामेन्ट’, ‘वेस्ट किपर’, ‘वेस्ट डिफेन्डर’ र ‘वेस्ट मिडफिल्डर’ लाई कुश्मामा रहेको साहसिक खेल ‘जीपलाइन’ मा साहसिक खेलको अवसर प्रदान गरिने पर्वत जेसिजले बताएको छ।
प्रतियोगितामा सहभागिता जनाउनको लागि गण्डकी प्रदेशभित्रका करिब सबैजसो जिल्लाका १५ वटा र प्रदेश बाहिरका १० वटा गरी कुल २५ समूहहरूले प्रतिस्पर्धा गर्ने अध्यक्ष पौडेलले बताए। प्रतियोगिताको सञ्चालनको सबै तयारीहरू पूरा भएका छन्। प्रतियोगिता सुरु हुनु पूर्व मङ्गलवार ‘जेसिज कप शिल्ड अनावरण’ कार्यक्रमको समेत आयोजना गरेर तयारी र प्रतियोगिताका बारेमा जानकारी दिइएको छ।
पर्वत जेसिजका संस्थापक अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले शिल्डको अनावरण गर्दै खेलाडीहरूको ‘जर्सी’ समेत सार्वजनिक गरेका छन्। उनले युवाहरूको क्षमता र नेतृत्व विकाससँगै पर्वतमा जेसिजले सामाजिक क्षेत्रमा गरेको योगदानको प्रशंसा गरे। जेसिजले आयोजना गरेको प्रतियोगिताबाट पर्वतमा रहेका साहसिक पर्यटनका हरेक स्वादहरू पाहुनाहरूलाई देखाउने अवसर समेत मिलेको उल्लेख गरे।
जेसिजका अध्यक्ष पौडेलले कोभिड–१९ र त्यस अगाडिदेखि पनि प्राय सुनसान रहने गरेको पर्वतको खेल जगतलाई चलायमान बनाउनको लागि पनि प्रतियोगिता महत्त्वपूर्ण हुने बताए। भलिबल, ब्याडमिन्टन, लगायतका खेललाई सानो क्षेत्रमा सहज तरिकाले सञ्चालन गरिने भए पनि फुटबल खेल सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको उनको भनाई छ। जिल्लामा हरेक प्रकारका खेलहरूको समानान्तर विकास हुनुपर्छ भन्ने मान्यताले नै जिल्लामा कम खेल्ने गरिएको फुटबल जेसिजको रोजाइमा परेको उनको भनाई छ।
प्रतियोगिताका संयोजक एन्जल कर्माचार्यको अनुसार प्रतियोगितामा सहभागी हुनका लागि बुधवार बिहानदेखि नै विभिन्न जिल्लाबाट खेलाडीहरू पर्वतमा भित्रिएका छन्। बिहीबार बिहान कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
‘सेभेन ए साइड फुटबल’ को प्रत्येक टिममा सात जना मात्रै खेलाडी खेल्छन्। यो परम्परागत ११ जना खेलाडीहरू रहेर खेलिने फुटबलको सानो संस्करण हो। यसको मैदान सानो हुन्छ भने खेललाई दुई ‘हाफ’ मा विभाजन गरिएको हुन्छ। मनोरञ्जन, सामुदायिक एकता र प्रतिभा पहिचान गर्ने उद्देश्यले विभिन्न विद्यालय, क्लब, समाज वा सङ्घसंस्थाको आयोजनामा ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताहरू आयोजना हुने गरेका छन्।
कुश्मामा आजबाट सुरु हुँदै एक लाख राशिको जेसिज कप फुटबल
भदौ ५, २०८२




