पर्वत : पर्वत जेसिजको आयोजनामा भएको ‘पर्वत जेसिज–२०२५ सेभेन ए साइड फुटबल प्रतियोगिता’ को उपाधि ‘होटेल बेन्जु’ पोखराले जितेको छ ।
जेसिजका विभिन्न शाखा तथा जेसिज बाहिरका खेलकुद क्लब, युवा क्लब, समूह र व्यक्तिगत रूपमा निर्माण भएका १९ समूहहरूबिच भएको प्रतिस्पर्धामा ‘होटेल बेन्जु’ पोखराको समूह विजेता बनेको हो । कुश्मा नगरपालिका–५ बडागाउँ चौरमा गत बिहीबारदेखि सुरु भएको प्रतियोगिताको ‘फाइनल’ खेल आइतबार सम्पन्न भएको हो । ‘फाइनल’मा गुन्नी फुटबल क्लबमाथि शून्यका विरुद्ध दुई गोल गर्दै ‘बेन्जु’ विजेता बनेको हो ।
जितसँगै बेन्जुले एक लाख एक हजार एक सय ११ रुपैयाँ सहित ट्रफी उचालेको छ । उपबिजेतामा चित्त बुझाएको पोखराकै गुन्नीले ५१ हजार एक सय ११ रुपैयाँ प्राप्त गरेको छ । विजेता तथा उपविजेता बनेका टोलीहरूलाई जिल्लाको फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले पुरस्कार हस्तान्तरण गरे ।
प्रतियोगितामा पर्वत जेसिजका खेलाडी गगन मल्ल ‘इमर्जिङ प्लेयर’, जिरो कि.मि. एफ.सी.का कुन्जन गुरुङ ‘हाई स्कोरर’, होटेल बेन्जुका खेलाडी तक्दिर घले ‘वेस्ट डिफेन्डर’, गुन्निका मनोज गुरुङ ‘वेस्ट मिडफिल्डर’ तथा होटेल बेन्जुकै मन्दिप गुरुङ ‘वेस्ट गोलकिपर’ र राहुल थापा ‘वेस्ट प्लेयर’ बनेका छन् । उनीहरूले मेडल, प्रमाणपत्र र ट्रफी सहित पर्वतमा सञ्चालनमा रहेका साहसिक पर्यटकीय गन्तव्यहरू ‘द हार्नेस’ मा ‘जीपलाइन’ र ‘द क्लिफ’ मा ‘बन्जी जम्प’को अवसर पाएका छन् । ‘वेस्ट डिफेन्डर’ले भने पाँच हजार रुपैयाँ नगद समेत पाएका छन् ।
युवाहरूको क्षमता र नेतृत्व विकासमा सक्रिय पर्वत जेसिजले फुटबलमा पहिलो पटक जिल्लामै ठुलो पुरस्कार राशिको ‘ सेभेन ए साइड फुटबल’ प्रतियोगिताको आयोजना गरेको पर्वत जेसिजका अध्यक्ष अच्युत पौडेलले बताए । कोभिड–१९ र त्यस अगाडिदेखि पनि प्राय सुनसान रहने गरेको पर्वतको खेल जगतलाई चलायमान बनाउनको लागि पनि प्रतियोगिता महत्त्वपूर्ण बनेको उनको भनाइ छ । भलिबल, ब्याडमिन्टन, लगायतका खेललाई सानो क्षेत्रमा सहज तरिकाले सञ्चालन गरिने भए पनि फुटबल खेल सञ्चालन गर्नु केही चुनौतीपूर्ण रहेको उनको भनाई छ । जिल्लामा हरेक प्रकारका खेलहरूको समानान्तर विकास हुनुपर्छ भन्ने मान्यताले नै जिल्लामा कम खेल्ने गरिएको फुटबल जेसिजको रोजाइमा परेको पौडेलले बताए ।
‘सेभेन ए साइड फुटबल’ को प्रत्येक टिममा सात जना मात्रै खेलाडी खेल्छन् । यो परम्परागत ११ जना खेलाडीहरू रहेर खेलिने फुटबलको सानो संस्करण हो । यसको मैदान सानो हुन्छ भने खेललाई दुई ‘हाफ’ मा विभाजन गरिएको हुन्छ । मनोरञ्जन, सामुदायिक एकता र प्रतिभा पहिचान गर्ने उद्देश्यले विभिन्न विद्यालय, क्लब, समाज वा सङ्घसंस्थाको आयोजनामा ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताहरू आयोजना हुने गरेका छन् ।
पर्वत जेसिजद्धारा आयोजित ‘सेभेन ए साइड फुटबल’को उपाधि बेन्जुलाई
भदौ ८, २०८२




