मङ्ल, अशोज २१, २०८२
Tue, October 7, 2025

म्यादअघि नै गुणस्तरीय काम गरेका निर्माण व्यवसायी हमाललाई सम्मान

भदौ १२, २०८२

पर्वत : निर्माणको ठेक्का पाएका ठेकेदारहरूले समयमै काम पूरा नगर्दा धेरै अलोचना हुने गरेका छन् । कतिपय अवस्थामा बाध्यतावस समयमै काम नसकिने भए पनि धेरै कामहरुमा ठेकेदारको लापरबाहीका कारण काम समयमा पूरा नहुने र भएको काममा पनि गुणस्तर नहुने गरेको देखिएको छ ।

कामप्रति ठेकेदारहरूको लापरबाहीका कारण निर्माण व्यवसायीहरूले विभिन्न आरोपहरू भोगिरहेको बेलामा पर्वतका एक जना निर्माण व्यवसायी भने गुणस्तरीय काम त्यो पनि तोकिएको समयभन्दा पहिले नै पूरा गरेर सम्मानित भएका छन् । उनी हुन जिल्लाको जलजलाका गाउँपालिकाका निर्माण व्यवसायी विप्लव हमाल । जलजला गाउँपालिका–८ घर भई कालिका इन्फ्रास्टकचर प्रा.लि.का सञ्चालक उनलाई कुश्मा नगरपालिका–१ पाङको कसेरीदेखि कुश्मा नगरपालिका–२ खुर्कोटको हिमालय माध्यमिक विद्यालयसम्मको सडकको कामको आधारमा सम्मान गरिएको हो ।

विभिन्न सामाजिक कामहरू गर्दै आइरहेको पाङ युवा क्लबको आयोजनामा हरितालिका तीजको अवसरमा कुश्मा नगरपालिका–१ पाङमा आयोजित खुल्ला तीज गीत प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमको अवसरमा हमाललाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रममा पुगेका कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीमार्फत हमाललाई सम्मान गरिएको हो । ओम श्री दक्षिणामकाली क्रसर उद्योग समेत सञ्चालन गर्दै आएका उनले करिब पाँच किलोमिटर लामो सडक खण्डमा कालोपत्रे गर्ने काम गुणस्तरीय रूपमा र म्याद भन्दा अगाडि नै पूरा गरेको भन्दै प्रोत्साहनका लागि सम्मा गरिएको क्लबका अध्यक्ष जयराम सुवेदीले बताए ।

पूर्वाधार विकास कार्यालय पर्वत मार्फत सञ्चालित हिमालय मा.वि–नुहार–खनियाघाट सडक कालोपत्रे गरिएको हो । चार किलोमिटर आठ सय मिटर लामो उक्त सडकमध्ये तीन किलोमिटर कालोपत्रे र एक हजार आठ सय मिटर ढलान गरिएको छ । हमालले जिम्मा लिएका अन्य सडक तथा पुर्वाधारहरुको काम समेत तीव्र गतिमा भइरहेको र निर्माणका काममा गुणस्तर र समयको पालना गराउन अन्य निर्माण व्यवसायीलाई पनि प्रोत्साहन हुने भएकोले उनलाई सम्मा गरिएको सुवेदीको भनाइ छ ।

राजनीतिदेखि विभिन्न सामाजिक कामहरूमा सक्रिय रहँदै आएका हमाल व्यवसायी सँगसँगै सामाजिक सेवा गर्ने व्यक्तिका रूपमा परिचित छन् । लायन्स क्लब, रोटरी क्लब जस्ता सहयोगी संस्थाहरूमा आबद्ध हुँदै आएका उनले विभिन्न प्रकोपदेखि सामाजिक समस्याहरूमा व्यक्तिगत रूपमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् । भूकम्प, कोभिड–१९ जस्ता समस्यामूलक अवस्थामा पनि सामाजिक सेवामा खट्दै आएका हमाल हाल फर्सेमा रहेको शिव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रूपमा काम गर्दै आइरहेका छन् । राजनीतिक रूपमा नेपाल तरुण दलको केन्द्रीय सदस्य समेत रहेका उनी नेपाल पेट्रोलियम एसोसिएसनमा पनि आबद्ध छन् ।

सम्मानित भएपछि हमालले आफूले सबै निकायको सहयोग र सद्भावका कारण समयमै काम सम्पन्न गर्न सफल भएको बताए । आफूले पाएको सम्मानले अझै जिम्मेवारी थपिएको भन्दै उनले समयमै गुणस्तरीय काम गर्नका लागि खटिएका इन्जिनियरदेखि सरकारी कार्यालयका कर्मचारीहरूलाई धन्यवाद दिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive