मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

राष्ट्रिय परिचयपत्र बनाउने भिडले बिहानैदेखि खुल्यो जिल्ला प्रशासन पर्वत

भदौ १७, २०८२

पर्वत : राष्ट्रिय परिचयपत्र बनाउने विवरण दर्तामा सेवाग्राहीहरूको भीड निकै बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले बिहानमा पनि कार्यालय खुलाएर सेवा दिन सुरु गरेको छ।

दिउँसो कार्यालय खुलेको समयमा सेवाग्राहीहरूको चाप निकै बढ्दा सेवाग्राहीहरूले लामो समय पर्खिनुपरेको, सेवाग्राहीको भिड बढेको तथा कर्मचारीहरूलाई पनि कामको दबाब बढेपछि मङ्गलबारदेखि बिहान साढे सात बजेदेखि नै सेवा दिन सुरु गरिएको हो।

कार्यालयमा सेवाग्राहीको चाप अत्यधिक बढेकाले कार्यालय समयमै मात्र सेवा प्रवाह गर्न कठिन भइरहेको अवस्थामा भीड व्यवस्थापनको लागि नै यो नयाँ व्यवस्था लागू भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए।

तत्कालका लागि बिहानैदेखि सेवा दिन सुरु गरिए पनि यसलाई कहिलेसम्म निरन्तरता दिने भन्ने यकिन भएको छैन। तर भीड कायम रहेको अवस्था र अर्को व्यवस्था नभएसम्मका लागि सार्वजनिक बिदा नभई कार्यालय खुल्ने दिनमा बिहान साढे बजेदेखि नै सेवा प्रवाह हुने उनले बताए। शिक्षक, जागिरमा व्यस्त हुने अन्य व्यक्तिहरू, दिउँसोको समयमा काम गर्नेहरू लगायत दिउँसो काममा व्यस्त हुनेहरूले बिहानको समयलाई उपयोग गरेर विवरण भर्दा भीड विकेन्द्रित हुने र सबैले सेवा लिन सहज हुने प्रमुख जिल्ला अधिकारीले घिमिरेको भनाइ छ।

सामाजिक सुरक्षा भत्ता बुझ्नेदेखि राहदानी निकाल्नुपर्ने लगायतका व्यक्तिहरूले राष्ट्रिय परिचय पत्रमा राख्नुपर्ने विवरणहरू भर्नका लागि दैनिक जसो कार्यालयमा भिडभाड हुने गरेको छ। जिल्लाका ग्रामीण भेगबाट सवारीमा आएर विवरण भर्न खोज्दा पनि पालो नआउने समस्या भइरहेको छ। कार्यालयको आइतबारको तथ्याङ्क मात्रै हेर्ने हो भने ५१ जना महिला र १९ जना पुरुष गरी ७० जनाले आफ्नो विवरण भरेका छन्। जबकि राष्ट्रिय परिचय पत्र ११ जनालाई मात्रै वितरण भएको छ। जुन विवरण भरेकाहरूको १५ प्रतिशत मात्रै हो।

पर्वतमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय हुवासबाट राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता सङ्कलन तथा वितरण सम्बन्धी कार्य भइरहेको छ। यी दुई स्थानबाट परिचय पत्रको काम भइरहँदा पनि सेवाग्राहीको भीड निकै बाक्लो छ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने प्रत्येक लाभग्राहीले प्रत्येक चालु आर्थिक वर्ष २०८२/०८३ को  साउन एक गतेदेखि भदौ मसान्तसम्म सम्बन्धित वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ताको परिचयपत्र अनिवार्य नवीकरण गराउनुपर्ने भनिएको छ। उक्त प्रयोजनका लागि राष्ट्रिय परिचयपत्र विवरण दर्ता सङ्कलनको लागि सेवाग्राहीको चाप झनै बढ्दा दिउँसोमा मात्रै सेवा प्रवाहमा समस्या भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।

कार्यालयले सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले ‘बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त, असहाय वा नब्बे वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने’ भने अनुसार प्रशासनले सम्बन्धित स्थानीय तहमार्फत वडा कार्यालय र बैङ्कहरूलाई उक्त परिपत्र कार्यान्वयनका लागि पत्राचार गरेको छ। बैङ्कमा खाता खोल्न र शेयर कारोबारमा संलग्न हुन समेत राष्ट्रिय परिचयपत्र चाहिने भएपछि जिल्ला प्रशासनमा सबैभन्दा बढी सेवाग्राहीहरू राष्ट्रिय परिचय पत्रका नै भेटिने गरेका छन्।

विवरण दर्तामा निकै चाप भएपछि प्रशासन कार्यालयले सेवाग्राहीलाई सोही दिन कार्यालय समय पछाडि बसेर समेत कार्य सम्पादन गर्दै आइरहेको थियो। तर कार्यालय समयपछिको केही समयले मात्रै सेवाग्राहीको पर्खाई नसकिँदा बिहानको समयमा पनि काम सुरु गर्नुपरेको घिमिरेको भनाइ छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive