बिहि, माघ २९, २०८२
Thu, February 12, 2026

त्रिभुवन मा.वि.का पूर्व शिक्षकहरूलाई सामूहिक सम्मान प्रदान

अशोज २५, २०८२
पर्वत : जिल्लाको फलेवास नगरपालिका–३, शंकरपोखरीस्थित त्रिभुवन माध्यमिक विद्यालयको आयोजनामा गुरु सम्मान तथा जिल्ला स्तरीय छन्दोबद्ध कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालय स्थापनाकालदेखि हालसम्म त्यहाँ कार्यरत रही हाल अन्यत्र नै कार्यरत रहेका ३९ जना पूर्व शिक्षकहरूलाई शुक्रवार विद्यालयमा आयोजना भएको कार्यक्रममा सामूहिक रूपमा सम्मान गरिएको हो । वि.सं. २०१० सालमा विद्यालय स्थापना भएयता लामो तथा छोटो समय अध्यापन गरेका शिक्षकहरूलाई सम्मान गरिएको हो । यसरी सम्मान गरिएकाहरूमा विद्यालयमा आठ महिना अध्यापन गरेका संविधान सभाका सदस्य अर्जुनप्रसाद जोशी सहित विजयराज लम्साल, ढुण्डिराज शर्मा, एकनारायण भुसाल, द्रोणराज उपाध्याय, पूर्णप्रसाद उपाध्याय, धर्मदत्त अधिकारी, ढकप्रसाद तिवारी, प्रेमप्रसाद भुसाल, शिवप्रसाद भुसाल, होमनाथ अधिकारी, लोकप्रसाद काफ्ले लगायत रहेका छन् ।
सोही कार्यक्रमको अवसरमा आयोजना भएको पर्वत जिल्ला स्तरीय छन्दोबद्ध कविता वाचन प्रतियोगितामा १३ वटा विद्यालयहरुबीच प्रतिस्पर्धा भएको छ । विद्यार्थी स्वयंले रचना गरेको वा अन्य कविद्वारा रचना गरिएको कविता वाचन गर्न पाउने गरी आयोजना भएको प्रतियोगितामा मोदी गाउँपालिकाको पशुपति माध्यमिक विद्यालयका मिनाकुमारी शर्मा प्रथम, कुश्माको राष्ट्रिय बाल शिक्षा सदन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयकी सुप्रिया रिमाल द्वितीय र फलेवास नगरपालिकास्थित थापाठाना माध्यमिक विद्यालयकी गरिमा शर्मा तृतीय भएकी छिन् । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरूलाई प्रमाणपत्र सहित नगद क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले स्याउलाको झुपडीबाट शिक्षा दिन सुरु गरेको विद्यालयले अहिलेसम्म गरिरहेको प्रगतिको बारेमा खुसी व्यक्त गर्नुभयो । जिल्लाकै अग्रणीमध्येको एक उक्त विद्यालयमा अध्ययन तथा अध्यापन गरेका धेरै विद्यार्थी र शिक्षकहरू राज्यका विभिन्न तह र ओहदामा रहनु नै विद्यालयको सफलता भएको भन्दै उनले विद्यालयको बृहत्तर हितमा सबैको हातेमालो आवश्यक हुने बताए । अर्को प्रसङ्गमा बोल्दै उनले सधैँ खानेपानीको चरम अभावमा रहेको शंकरपोखरीबासीलाई पानीको सहज आपूर्ति गराउन सक्नु निकै उल्लेखनीय काम भएको बताएका छन् । शंकरपोखरी सहित समग्र फलेवास नगरपालिकाको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ छ ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्वतका प्रमुख मतिलाल चपाईँ, लोकप्रसाद काफ्ले, अर्जुनप्रसाद जोशी, द्रोणराज उपाध्याय लगायतका पूर्व शिक्षकहरूको तर्फबाट बोल्दै विद्यालयको इतिहास र वर्तमान परिवेशकाबारेमा भनाई राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयको अतिरिक्त क्रियाकलापका संयोजक शिक्षक झलक पौडेलले गरेका थिए । उक्त कार्यक्रमले गुरुजस्ता आदरणीय व्यक्तित्वहरूको सम्मान गर्दै साहित्यिक प्रतिभाको पहिचान र प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive