सोम, अशोज २७, २०८२
Mon, October 13, 2025

पैयुँको धान बालीमा फड्के कीराको आक्रमण

अशोज २७, २०८२

पर्वत : जिल्लाको पैयुँ गाउँपालिका–२ र ४ मा लगाइएको धान खेतीमा फड्के कीरोको आक्रमणले क्षति बढ्दै गएपछि कृषकहरू चिन्तित बनेका छन्।
अब पाक्ने तयारीमा रहेको धानको काण्ड र पातमा कीराले काटेको तथा ती कीराहरू बाक्लै मात्रामा धानमा फैलिँदा कीराले काटिएको धानका बोटहरू सुकेर मरेको कृषकहरूले बताएका छन्। कीराले धान खेतीमा क्षति हुँदै जान थालेपछि नियन्त्रणका लागि वडामार्फत गाउँपालिकामा पनि अनुरोध गरिएको पैयुँ गाउँपालिका–४ हुवासका कृषक  टङ्क तिवारीले बताए।

‘अब त धान पाकेर थन्क्याउने बेला आउन लागेको बेलामा कीराले काटेर खेतमै धान सुकेको छ। हुवास र त्रिवेणीमा लगाइएको धान खेतीमा बढी असर देखिएको छ’, उनले भने, ‘कहिले हावा, पानी र असिनाले खाने, कहिले बाँदरले लुछेर फाल्ने। त्यति गरेर पनि बाँचेको धान कीराले काटेर सक्ने भएपछि हामी कृषकले जे गरे पनि केही हुने रहेनछ जस्तो भयो।’

कृषकहरूको गुनासो आएपछि गाउँपालिकाको कृषि शाखाका प्राविधिक तथा शाखा प्रमुख विश्वास अधिकारी, कृषि ज्ञान केन्द्र पर्वतकी बाली संरक्षण अधिकृत सोविता सुवेदी तथा पैयुँ–५ का वडाध्यक्ष निर्भीक नारायण भुर्तेल सहितको टोलीले स्थलगत अनुगमन गरेको छ। अनुगमनका क्रममा फड्के कीराको आक्रमणबाट नै धान सुकेको पुष्टि भएको बताउँदै बाली संरक्षण अधिकृत सुवेदीले कीराको आक्रमणको बेलामा धानमा देखिने लक्षणहरूबारे बताइन्।

‘कीराको वयस्क तथा बच्चा दुवैले पातको फेदबाट रस चुसेर खान्छन्। सुरुमा तल्ला पातहरू र पछि माथिल्ला पातहरू पहेँला भएर जान्छन्। आक्रमण पछि लागेका बालाहरूमा नभरिएका वा फोस्रा दानाहरू हुन्छन् र उत्पादनमा ह्रास आउँछ। अत्यधिक आक्रमण भएको अवस्थामा पुरै धानका बोटहरू गर्छन् जसलाई होपर बर्न भनिन्छ’, उनले भनिन, ‘बढी आद्र्रता, खेतमा पानी, उष्ण वातावरण, पृथक रोपाइ समय भएको क्षेत्र, अत्यधिक युरिया मलको प्रयोग यस कीराको वृद्धिको लागि उपयुक्त वातावरण हुन्। कीटनाशक विषादीको अनावश्यक र पटक पटकको प्रयोगले मित्र जीवहरू मर्न गई यसको संख्यामा वृद्धि हुन्छ। छोटो समयमै ज्यादै वृद्धि हुने हुनाले यसको र मित्र जीवहरूको धानको फेदमा र पानीको सतहमा हप्तैपिच्छे अवलोकन गर्नुपर्छ।’

यसले धानमा लाग्ने विभिन्न किसिमका भाइरसजन्य रोगहरू सार्ने माध्यमको रूपमा पनि काम गर्ने भएकोले नियन्त्रणका लागि समयमा नै कृषकहरूको चनाखो बन्नुपर्ने उनको सुझाव छ।

यसको प्रकोपबाट धान जोगाउनको लागि धानका धेरै मित्र जीवहरू माकुरा, स्त्री स्वभावको खपटे, मिरिंडवग लगायत महत्त्वपूर्ण हुने कृषि प्राविधिकहरूको सुझाव छ। पकेट क्षेत्रमा पृथक्–पृथक् समयमा धानको रोपाइ नगर्ने, सकेसम्म एक/दुई हप्ता भित्र सबै ठाउँमा रोपाइ सकाउने, रासायनिक मलको सन्तुलित मात्रामा प्रयोग गर्ने, नाइट्रोजनयुक्त मलको बढी प्रयोग नगर्ने, बाक्लो रोपाइ नगर्ने, धानको बेर्ना कम्तीमा २० गुण २० से.मी. को फरकमा रोप्ने, धान गँजाउने बेलामा खेतभित्र हावा खेल्ने वातावरण बनाउने लगायतका विधिहरू सुरुवै अवलम्बन गरिनुपर्ने उनीहरूको सुझाव छ।

गाउँपालिकाका कृषि शाखा प्रमुख अधिकारीले अनावश्यक रूपमा विषादीको प्रयोग गर्न नहुने भन्दै कीराको संख्या एक वटा प्रति सरा र मित्र जीवको संख्या यस भन्दा कम देखिएमा अन्य व्यवस्थापनका उपाय अपनाउनुपर्ने सुझाए। दुई तिन पटकसम्म खेतमा एक हप्ता पानी राखी त्यसपछि पानी निकास गर्ने र चार पाँच दिन खेत सुख्खा राखेर   सिँचाइको व्यवस्था गर्ने अर्को फड्के कीरा नियन्त्रणको अर्को उपाय हो।

यस्तै विषादीहरू एजिडाराक्टीन ०.०३% इसी दुई एम.एल वा एसीफेट ७५४ एसपी दुई एम.एल वा बुप्रोफेनिन २५ % एस.सी १.५ एम.एल वा फिप्रोनिल ५४ एस.सी. दुई/तीन एम.एल वा इमीडाक्लोप्रीड १७.८ एस.एल एक एम.एल   प्रति चार लिटर पानीमा कीराको संख्या हेरी एक हप्ताको फरकमा छर्नुपर्ने प्रविधिकहरुले बताए। विषादी छर्किँदा  धानको बिरुवा माथिबाट मात्र नभई बिरुवाको फेदको भागमा पर्ने किसिमले तलबाट पनि छर्किनुपर्ने उनीहरूको सुझाव छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive