मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

कुश्माको एउटा बस्ती नै बाढीको उच्च जोखिममा

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–४ जिरो किलोमिटर स्थित मध्य पहाडी लोकमार्ग भन्दा थोरै माथि अधिकांश दलितहरू बसोबास गरिरहेको बस्ती छ।

पाखाथरभन्दा थोरै तल रहेको उक्त बस्तीका एक बासिन्दा हुन् हीराबहादुर परियार। उनको साथमा ६ वर्षकी छोरी छन् जसको तीन पटको पेटको शल्यक्रिया गरेर आन्द्राको उपचार गरिएको छ। बिरामी छोरी रातमा खासै ननिदाउँदा परियार दम्पती रातमा पनि जाग्राम जस्तै हुन्छ।

जब वर्षा हुन थाल्छ उनीहरू त्यो छोरीलाई रुवाउँदै काखी च्यापेर अरू सन्तानलाई पनि बोकेर छिमेकीको घरमा आश्रय लिन पुग्छन्। बस्ती भन्दा माथि रहेको कुश्मा नगरपालिका–३ दुर्लुङको पहाडमा रहेको सडकबाट आउने गेग्रानसहितको बाढीका कारण केही दिन अगाडि मात्रै जोगियो।

थोरै मात्रै दायाँबायाँ गर्दै पहिरो आएको भएमा मानवीय क्षति अनिवार्य थियो। भाग्यले एक दिनको बाढीमा बाँचे पनि सधैँ भाग्यले साथ दिँदैन। हीराबहादुरको जस्तो पिडा बस्तीका सबैले भोगेका छन्।

त्यहाँका बासिन्दाले बिहान र साँझको खाना जसोतसो घरमै खाए पनि नजिकैका अलि सुरक्षित घरमा भाडामा कोठा लिएका छन्। बस्तीका करिब सबैजसो बासिन्दा मजदुरीको भरमा पेट पाल्दै आएका छन्। कोठा भाडा तिर्न सक्नेहरू भाडाको कोठामा सुत्न गए पनि भाडा तिर्न नसक्नेहरू जोखिम मोलेरै भए पनि घरमा नै सुत्छन्।

‘उपचार गर्दागर्दै भएभरको सबै सकियो, यही माटोले बनेको घरमा सुत्नुको उपाय छैन। घरको भित्ता नै केही दिन अगाडिको बाढीले हानेको छ। बिरामी छोरी रुन्छे, कुरेर बस्छौँ। छानामा पानीका थोप्लाको आवाज सुनेपछि बच्चालाई रुवाउँदै छिमेकीको पेटीमा गएर बस्छौँ’ हिराबहादुर भन्छन्, ‘माथिको ठाडो भीरबाट थामिनसक्नुको बाढीले ढुंगा र ग्रेगर बोकेर ल्याउँछ। हामी सबै खतरामा छौँ, कुन दिन हाम्रा लास खोज्नुपर्ने अवस्था आउने हो निधो छैन।’

स्थानीय समाजसेवी गुरुदत्त उपाध्यायले बस्तीमा रहेकामध्ये १९ परिवारलाई आफूले पनि सहयोग गरेर भाडामा कोठा खोजिएको र उनीहरू रातीको समयमा बस्तीमा नबस्ने बताए।

कुश्मा–दुर्लुङ सडकमा रहेको नालीको पानी पहिरो झर्ने स्थानबाटै कल्भर्ट बनाएर पहरामा खसालिएको र सडक चक्लाउने क्रममा निस्केको माटो, ढुंगा र ग्रेगर पनि सोही पहरामा फालिएका कारण तलको बस्ती अति उच्चजोखिममा परेको उनको भनाइ छ।

‘यो खोल्साबाट आउने बाढीका कारण जोखिम त थियो तर यस्तो विधिको जोखिम थिएन। यहाँ हाम्रो कुरा कसले पो सुन्छ ररु लौ हेर्नुस् त घरका छेउ–छेउबाट ग्रेगर सहितको बाढी बगेको’ उनले  भने, ‘माथि नालीको पानी फाल्ने कल्भर्ट बस्तीको सीधै माथि राख्दा यो हालत भएको हो। कति बेला बस्ती पुरेर उद्धारमा खटिनुपर्ने हो भन्ने जगजगी छ।’

लोकमार्गभन्दा माथि र तलको दुवै बस्ती खतरामा रहेको बताउँदै उपाध्यायले करिब डेढ सय घरमा असर पर्ने र करिब १९ घर पुरिनै सक्ने जोखिममा रहेको बताए। जुन स्थलगत रूपमा पनि देख्न सकिन्छ।

अर्का स्थानीयवासी दलबहादुर चालिसेले पहिरो नियन्त्रण गरेर बस्ती जोगाउनको लागि स्थानीय तह र प्रशासनमा अनुरोध गरिएको भए पनि यहाँको बजेटबाट त्यो सम्भव नहुने बताउँछन्।

पहिरो रोक्न अहिलेसम्म करिब १२-१५ हजार ग्याबिन जाली भरिएको तर प्रत्येक वर्षको बाढीले एकै वर्षमा ध्वस्त बनाइदिने गरेको उनको अनुभव छ। ‘सानो बजेटले त यसलाई नियन्त्रण गर्न नै सकिँदैन मैले जानेबाट १२-१५ जाली भरियो होला तर जुन वर्ष हाल्यो त्यही वर्ष स्वाहा हुन्छन्।

अहिलेसम्म बाढीले मानवीय क्षति हुन नसकेको कारण पनि त्यही जालीले भेल थामेर हो’ उनी भन्छन्, ‘अस्तिको बाढी आउनुभन्दा एक दिन पहिले मात्रै  डोजरले ६-७ मिटर गहिरो खाल्डो बनाएर चेक ड्याम बनाएकै कारण भोलिपल्ट बस्ती जोगियो। यहाँका बस्तीका घर भूकम्पले त हल्लाएको छ नै माटे घर मुसाले खोलेर उस्तै छ। बाढी छोए ढल्छन्।’

२०१४ र ५६ सालमा पनि सोही ठाउँबाट पहिरो, भएको थियो लाखौँको भौतिक क्षति

पहिरोको केही तल वर्षौँदेखि व्यवसाय गर्दै आएका स्थानीय दलबहादुर चालिसेले आफ्नो सम्झनामा रहेसम्म २०५६ सालमा आएको पहिरोले आफ्नो गोदाममा रहेको करिब १० लाख बराबरको खाद्यान्न सहितको सामग्री नष्ट भएको बताउँछन्। दाजुभाइ मिलेर घरभरि नै गोदाम राखेर राखिएको सामान बाढी सहित आएको लेदो घरभित्र पसेर नष्ट भएको थियो।

स्थानीय गुरुदत्त उपाध्यायले पनि २०१४ सालको पहिरोको बारेमा बाजेहरूबाट सुनेको र त्यसले ठुलो भौतिक क्षति भएको थाहा पाएको बताए। ‘मैले बाजेहरूबाट सुने अनुसार १४ सालमा आएको बाढी सहितको लेदो बजारको तलसम्म नै पुगेको थियो रे। ५६-५७ सालतिर आएको बाढीले पनि बजारका घरहरूभित्रै पानी र लेदो पसेको थियो’, उनले भने, ‘अहिलेसम्म पटक–पटक गरेर भगवानले सूचना दिएर बचाउनुभएको छ। अहिलेसम्म भगवानले काँध थापेको भन्नुपर्छ। अब पनि सम्बन्धित निकायले केही गर्न नसक्ने हो भने हुनेवाला पीडित सबैको श्राप उनीहरूलाई नै लाग्छ।’

५६ सालको बाढीले व्यक्तिको नाममा रहेको सबै जग्गा पुरियो। उनीहरूलाई स्थानान्तरण गरेर जिल्ला प्रहरी कार्यालय पर्वत नजिकै रहेको ठाउँमा लगियो तर बाढीको घाउ निको हुँदै जाँदा सारिएकाहरू त्यहीँ फर्किन थाले।

खोजखन्तरी गरेर आफ्नो आँठो निकालेर छाप्रादेखि ढलानसम्मका घर बनाउँदै आए। सकुमबासीको रूपमा रहनुभन्दा फेला परेको आफ्नै जग्गामा बस्नका लागि आएको स्थानीयवासी बताउँछन्। तर अब फेरि पनि बाढीको जोखिम बढ्दै गएको छ।

थाहा खबरमा संजय रेग्मीले लेख्नुभएको समाचार साभार गरिएको

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive