शनि, असार ७, २०८२
Sat, June 21, 2025

‘बीमा कम्पनी भाग्न सक्दैनन, नागरिकले बीमा गरौँ’: बीमा अभिकर्ता संघ पर्वतका अध्यक्ष अधिकारी

साउन ७, २०७८

संजय रेग्मी
साउन ७, २०७८
पर्वत : बीमा गर्नु जीवनको लागि महत्वपूण कुरा हो। नेपाल सरकारले आफ्ना नीति तथा कार्यक्रमहरुमा समेत नेपालीलाई जतिसक्दो धेरै बीमामा आवद्ध गराउने लक्ष्य राख्दै आएको छ। केही वर्ष पहिलेसम्म बीमा कम्पनीहरु डिजिटल प्रणालीमा नरहेको कारण ठगीका खबरहरु पनि बाहिर आउँथे। तर अहिले भने आर्थिक कारोबार नियन्त्रित छ। बीमा गरेपछि हुने फाइदाको बारेमा अझै पनि धेरैलाई थाहा नभएको अवस्था छ। बीमा किन गर्ने? भन्ने विषयमा दृष्टि न्यूजले पेशागत बीमा अभिकर्ता संघ नेपाल, पर्वत शाखाका अध्यक्ष गोविन्द अधिकारीसँग कुराकानी गरेको छ। प्रस्तुत छ अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश।

सुरुमै तपाईँ पाठकलाई बताईदिनुहोस की बीमा गर्नुको फाइदा के हो?
जीवन बीमा किन गर्ने? भन्ने प्रश्न धेरैबाट उठ्ने गरेको नै छ। बीमालाई धेरै मानिसले बुझेका छैनन्, बुझनेले पनि गलत रुपमा बुझेको पाइन्छ। बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो। बीमा गर्नुका फाइदा त धेरै छन्, तर मुख्य मुख्य फाइदा भनेका बीमाले मानिसलाई रकम बचत गराउन प्रोत्साहन गर्छ, जोखिम न्यूनीकरण, बीमितको मृत्युपछि आर्थिक संकटमा राहत, आयकरमा छूट, बुढेसकाल तथा शारीरिक अशक्त हुँदाको साथी, सम्पत्ति धितो विना ऋण पाइने, सामाजिक प्रतिष्ठामा वृद्धि, शिक्षा, दिक्षा र विवाहको व्यवस्था, लाभदायक लगानी लगायत छन्।

तर बीमा कम्नीहरुले प्रिमियम लिएपछि भाग्छन वा ठग्छन भन्ने धेरैको बुझाई छ नी?
मलाई लाग्छ अहिलेको परिवेशमा उहाँहरुको बुझाई अलिकति गलत भयो। यसको अर्थ बीमा गराउनेहरुको तर्फबाट गल्ती नै भएको छैन वा भएन भन्न खोजेको होईन्। अहिले सबै कुराहरु डिजिटल भएका छन्। नियामक निकायले प्रत्यक्ष रुपमा हेर्न वा जाँच गर्न पाउने भएका छन्। पहिले पहिले कतिपय एजेन्टहरुले बीमितबाट लिएको रिन्यूअल प्रिमियमहरु जम्मा नगरिदिने, पैसा निकाल्न खोजेमा विभिन्न वहानाबाजी गरिदिने, लगायतका समस्याहरु भोगेको भनेर मैले पनि सुन्ने गरेको छु। अहिले त बीमा जसले गरेको छ नी उसको मोबाईलमा पैसा कति जम्मा भएको छ? लोक कति निस्क्यो लगायतका कुराको म्यासेज नै आउँछ। यसो भएपछि एजेन्टबाट ठगीने भन्ने हुँदैन। डिजिटल मार्केटले आर्थिक कारोबारलाई ट्रान्सप्यारेन्ट बनाएको छ।

यति राम्रो सुरक्षा छ भन्ने कुरा तपाईँहरुले नागरिकलाई बुझाउन सक्नुभएन की? बुझाउन खोज्दा पनि बुझेनन्?
यो बेला भनेको परम्परागत कागजी शैलिबाट डिजिटल प्रबिधिमा छिरेको बेला यो। यो स्ट्रगल पिरियड हो। अहिले बीमितहरुको संख्या हेर्ने हो भने धेरै राम्रो छ। हामीले बुझाउने काम पनि गरिरहेका छौँ, नागरिकले बुभ्mने क्रम पनि निकै राम्रो भएको छ। कतिपय नागरिक मसँग लौन मेरो बीमा गरिदिनुहोस भनेर सिधै मसँग आएको अवस्था छ। सुरक्षा र पारदर्शीताको कुरा धेरैले थाहा पाउनुभएको छ। समाजमा शिक्षा र चेतनाको स्तर बढ्दै जाँदा अहिले कुरा बुझाउनको लागि खासै समस्या भएको छ भन्ने मलाई लाग्दैन। नागरिकको चासो बढेको छ। मैले माथि जुन फाइदाहरु भनेको छु त्यसका बारेमा धेरैलार्य थाहा भएको छ। नागरिक र बीमा एक अर्काका परिपूरक हुन्।

तपाईँ संघको अध्यक्ष भएको नाताले यस सम्बन्धि शिक्षा प्रशारणको लागि पहल गर्ने ठाउँ पनि त छन नी?
हो तपाईँले भनेको विषयमा मैले सोचिरहेको छ्, एक खालको प्लानिङ गरिरहेको छु। आउँदो भदौमा पर्वतमा रहेका सबै बीमा कम्पनीहरुमा पुगेर तिनीहरुको अवस्थाको बारेमा जानकारी लिने र आवश्यकताको पक्षमा पनि जानकारी राख्ने काम गर्दैछु। सबैको साझा कुरा मिलेमा जिल्लामा रहेका सरकारी तथा गैर सरकारी संघ संस्थाहरुसँग समेत सहकार्य गरेर बीमा शिक्षालाई ग्रामिण क्षेत्रमा बीमा भन्ने शब्द नै नसुनेका नागरिकलाई समेत बीमाको आवश्यकता र महत्वको बारेमा सिकाउने सोच राखेको छु। अर्को कुरा पर्वतमा हालै मात्रै स्थापना भएको यो संघलाई छिमेकी जिल्लाहरु बागलुङ र म्याग्दीमा पनि विस्तार गर्ने योजना सोचेको छु।

बिमा कम्पनीहरु कसरी चलेका हुन्छन त?
बीमा कम्पनीहरू नेपालको बीमा ऐन तथा कम्पनी ऐनअनुसार स्थापित हुन्छन् र तिनलाई सरकारको स्वायत्त नियमनकारी निकाय बीमा समितिले नियमन, अनुगमन र नियन्त्रण गर्ने गर्दछ। कम्पनी पैसा लिएर भाग्न सक्दैन। यी कम्पनीहरु भरपर्दो र विश्वासिला हुन्छन्। बीमा कम्पनी आफैंले पनि पुःन बीमा गरेको हुन्छ। जसका कारण प्राकृतिक प्राकोप लगायत दुर्घटनामा कम्पनी परे के हुन्छ की भन्ने चिन्ता लिनुपर्दैन। बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो। बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो। मानविय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि रहेका हुन्छन्। जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हन सक्छ। अथवा दुर्घना अनिश्चित हुन्छ। जोखिम वा आपत विपद कति बेला आउँछ कसैलाई थाहा हुदैन्। त्यसैले पनि बीमा सबै र सधैका लागि अपरिहार्य नै मानिन्छ।

जीवन बीमाको बारेमा बुझे पनि धेरैले निर्जीवन बीमाको बारेमा जानकारी नपाएको जस्तो देखिन्छ हो?
निर्जीवन बिमा जीवन बीमा बाहेक चल–अचल सम्पत्ति जस्तै घर, उद्योग कलकारखाना, सवारी साधन आदीको बिमा निर्जीवन बिमा हो। यस किसिमको बीमाअन्तर्गत दुर्घटना, औषधी उपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिम लगायात पर्दछन्। दुर्घटना, आगलागी, चोरीलगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने हानीको क्षतिपूर्ति प्राप्त गर्न तथा जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति वा राहत पाउन बिमा गर्ने गरिन्छ। भौतिक सम्पति, उत्पादनमुलक बाली तथा व्यवसायमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बिमाको क्षेत्र विस्तार भईरहेको छ।

अन्त्यमा, तपाईँ पेशागत बीमा अभिकर्ता संघको अध्यक्ष भएपछि बीमितहरुको पक्षमा कसरी काम गर्नुहुन्छ?
संघमा निवदेन आएको अवस्थामा बीमितलाई परेको समस्याका बारेमा बुझेर उहाँलाई आवश्यक सहयोग हुने छ। जुनसुकै बीमा कम्पनी किन नहोस दावी पुग्ने अवस्थामा बीमित र अभिकर्ताको अधिकारको विषयमा म नबोल्ने र नलाग्ने भन्ने त कुरै हुँदैन नी। ४० ओटा संस्थाका प्रतिनिधहरुले मैले गर्न सक्छु भन्ने सोचेर नै अध्यक्ष बनाउनुभएको हो, उहाँहरुको विश्वास टुटाउने कुरा हुँदैन्। अर्को कुरा म अध्यक्षले मात्रै सबै कुरा गर्ने भन्ने हुँदैन। संघको समिति छ जसमा धेरै हुनुन्छ, त्यो टीमले काम गर्ने हो। संघले गर्नुपर्ने कुराहरु के के हुन्छन ती सबै कुराहरु सही तरीकाले सही समयमा हामीबाट हुनेछन। तपाईँको मिडियाबाट सबै पाठकलाई म यही अनुरोध गर्दछु।

अधिकारी २०७२ सालमा लाइफ इन्स्योरेन्स कार्पोरेसन (एल.आइ.सी) बाट बीमा क्षेत्रमा प्रवेश गरेका हुन्। लामो समयसम्म सञ्चार क्षेत्रमा जमेका उनी सञ्चार क्षेत्र सँगसँगै बीमामा प्रवेश गरेका हुन्। पर्वतको कुश्मा नगरपालिका–६ का स्थायी बासिन्दा अधिकारी हाल एल.आइ.सीको एजेन्सी म्यानेजरको रुपमा रहेका छन्। उनी हालै चेयरमेन क्लबमा पुगेका छन्। गत आर्थिक वर्षमा उनले कम्पनीबाट एम.डि.आर.टी.को उपाधि समेत पाएका थिए।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive