पर्वत : शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) पर्वतको संयोजनमा नागरिक सङ्घ संस्थाहरूसँगको सहकार्यमा कुश्मा नगरपालिका र जिल्ला समन्वय समिति पर्वतमा ध्यानाकर्षण गराइएको छ ।
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत गैसस महासङ्घ पर्वत, नागरिक समाज सञ्जाल पर्वत लगायतका संस्थाहरूसँगको सहकार्यमा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी र जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम बि.क. समक्ष ध्यानाकर्षण पत्र बुझाइएको हो । जसमा शिक्षा अधिकारको सुनिश्चितता तथा हिंसारहित समाज निर्माणका पक्षमा विशेष ध्यान दिन अनुरोध गरिएको छ ।
जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित कार्यक्रममा एनसिईका जिल्ला संयोजक आशिष् पौडेलले वाचन गरी सुनाइएको ध्यानाकर्षण पत्र नागरिक समाज सञ्जाल पर्वतका संयोजक माया अधिकारीले जिल्ला समन्वय समितिका प्रमुखलाई हस्तान्तरण गरिन् । उक्त अवसरमा समन्वय प्रमुख बि.क.ले ध्यानाकर्षणमा समावेश गरिएका १४ बुँदा ज्यादै महत्त्वपूर्ण रहेका र तिनीहरूको कार्यान्वयन गर्न सके शिक्षा क्षेत्रमा जिल्लाले फड्को मार्न सक्ने तथा हिंसारहित जिल्ला बनाउन सहयोग पुग्ने बताए । समन्वय समितिले ध्यानाकर्षण पत्रलाई जिल्लाका सबै पालिकामा सम्प्रेषण गर्ने पनि उनले बताएका छन् ।
कुश्मा नगरपालिकामा आयोजित कार्यक्रममा एनसिई नेपाल पर्वतका संयोजक आशिष् पौडेलले ध्यानाकर्षण पत्र वाचन गरेर सुनाए भने एनसिई युवा समूहकी सदस्य करुणा सुनारले नगरप्रमुखलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरिन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतम सहित विभिन्न वडाका अध्यक्ष, एनसिई नेपालका निवर्तमान अध्यक्ष राजेन्द्र पहाडीसहित नागरिक सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । नगरप्रमुख रामचन्द्र जोशीले ध्यानाकर्षण पत्र ग्रहण गर्दै आफूहरूले छलफल गरेर पत्रमा सुझाइएका कुराहरूलाई कार्यान्वयन गर्न प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
१६ दिने अभियान अवधिभर विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरूका बिचमा सहकार्य तथा समन्वय गरी कार्यक्रमहरू गरिने योजना रहेको गैसस महासङ्घ पर्वतका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।




