पर्वत : उद्योग वाणिज्य सङ्घ पर्वतको स्वर्ण जयन्तीको अवसरमा आयोजना हुन लागेको पर्वत महोत्सवमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
आगामी पुस नौ गतेदेखि १९ गतेसम्म कुश्माको बडागाउँ चौर खेल मैदानमा आयोजना हुने आठौँ पर्वत महोत्सवमा पहिलो पुरस्कार दुई लाख २२ हजार दुई सय २१ रुपैयाँ राखिएको छ । यस्तै दोस्रो हुनेले एक लाख ११ हजार एक सय ११ रुपैयाँ, तेस्रो हुनेले ५५ हजार पाँच सय ५५ रुपैयाँ तथा सान्त्वना स्थानमा आउनेले २२ हजार दुई सय २२ रुपैयाँ पाउने छन् । यसबाहेक विजेताहरूलाई शील्ड, मेडल तथा प्रमाण–पत्र सहित उत्कृष्ट विधाहरूमा पनि सम्मान प्रदान गरिने छ ।
गण्डकी प्रदेशको पालिका स्तरीय प्रतियोगिता भएकोले प्रदेशका ११ जिल्लाका ८५ ओटा स्थानीय तहहरूले भाग लिन पाउने महोत्सवका खेलकुद संयोजक प्रदीप तिमिल्सिनाले बताए । महोत्सवलाई अझै आकर्षक बनाउनका लागि गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ ।
जिल्ला भलिबल सङ्घ पर्वत र जिल्ला खेलकुद विकास समिति पर्वतको सहकार्यमा आयोजना हुने प्रतियोगितामा विभिन्न स्थानीय तहका उत्कृष्ट टिमहरूको सहभागिता रहने गरी समन्वय गरिएको संयोजक तिमिल्सिनाले बताए ।
महोत्सवको उद्देश्य पर्वत जिल्लाको सांस्कृतिक, पर्यटन तथा औद्योगिक सम्भावनालाई प्रवद्र्धन गर्नुका साथै खेलकुदमार्फत युवाहरूलाई प्रोत्साहित गर्ने रहेको आयोजक पर्वत उद्योग वाणिज्य सङ्घले बताएको छ । प्रतियोगितामा लोक दोहोरी प्रतियोगिता, भजन तथा रत्यौलीका प्रस्तुतीहरुसँगै रमाइलो मेला जस्ता आकर्षणहरू रहेका छन् ।
गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेलाका रूपमा आयोजना हुने महोत्सवको लक्ष्य शान्ति र सद्भाव प्रवाह गरी गण्डकी प्रदेशको लघु, घरेलु, कृषि, वन र पशुजन्य उद्यमहरूको प्रचारप्रसार, प्रवद्र्धन र बिक्री व्यवस्थापन रहेको छ । यस्तै जिल्लामा रहेका कला, संस्कृति, खेलकुद, ऐतिहासिक तथा धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन गराई जिल्लालाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु पनि महोत्सवको लक्ष्य रहेको उद्योग वाणिज्य सङ्घ पर्वतका अध्यक्ष ठाकुर बी. पौडेलले बताए ।
पर्वत महोत्सवमा दुई लाख २२ हजार राशिको पुरुष भलिबल प्रतियोगिता
मंसिर २३, २०८२





