साउन ९, २०७८
पर्वत : मुस्लिम धर्मावलम्बीहरुको उल्लासमय चाड बकर इदको अवसर पारेर पर्वत मुस्लिम सेवा समितिले शुधकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

सदरमुकाम कुश्मा बजारमा मदरसा समेत रहेको मस्जिदमा भएको कार्यक्रमा पर्वत शुभकामना अदानप्रदान गर्दै पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीलाई सम्मान गरिएको हो। पहाडीले मुस्लिम समुदायको पक्षमा बिभिन्न सहयोगहरु गरेको तथा लगातार दुई वर्षसम्म पर्वत अस्पताललाई प्रदेशकै उत्कृष्ट अस्पताल निर्माण गर्न महत्वपूर्ण भूमिका निर्माण गरेका कारण सम्मान गरिएको समितिका अध्यक्ष जलालुदिन मियाले बताए।

मस्जिदको भौतिक संरचनामा बिभिन्न समस्यामा आएको बेलामा पहाडी आफैले प्रास्तवना लेखेर प्रदेश सरकारमा बुझाएपछि प्राप्त भएको पाँच लाख रुपैयाँ बजेट महत्वपूर्ण कामहरु गर्न सकिएको तथा हिन्दु र मुस्लिम धर्म मान्नेहरुको बीचमा धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका निभाएका कारण बकर इदको अवसरमा पहाडीलाई सम्मान गरिएको समितिका सचिव अस्गर अलि मिया बताउँछन्।
सम्मान ग्रहणपछि बोल्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पहाडीले जुनसुकै धर्म समुदायलाई पनि अप्ठ्यारो परेको बेलामा गरिने सहयोग नै संसारको सबैभन्दा ठूलो धर्म रहेको बताए। कुश्मा सहित पर्वत विभिन्न ठाउँमा बस्दै आएका मुस्लिमहरु २÷३ सय वर्ष अगाडिबाटै बसेको भए पनि आर्थिक समस्याका कारण उनीहरु बजारबाट बिस्थापित भएको कुरा आफुले थाहा पाएको भन्दै पहाडीले धार्मिक सहिष्णुतामा कुश्मा बजार उदाहरणीय रहेको उल्लेख गरे।
संबिधानमा नै नेपाललाई धर्म निरपेक्ष भनेर राखिएका कारण स्वतन्त्र रुपले आफ्ना धर्म मान्न पाउने अधिकार सबैमा रहेको उनको भनाई छ। हरेक धर्म मान्ने मान्छेहरुले आफ्ना धार्मिक र साँस्कृतिक सम्पदा तथा परम्पराहरुलाई जोगाउन पाउने भएकाले र त्यसमा पनि पर्वतमा रहेका मुस्लिमहरु नेपालकै भएका कारण स्थानीय तह सहितका सरकारहरुले अन्य धर्मलाई जत्तिकै महत्व दिएर उनीहरुलाई पनि कार्यक्रम दिनुपर्ने पहाडीको भनाई छ।

‘आफ्ना धर्म र संस्कृति जोगाउने अधिकार सबैको हुन्छ, तपाईँहरु पनि आफ्ना सम्पदा र संस्कृतिको रक्षाका लागि प्रतिबद्ध हुनुहोस, तीनै तहका सरकारहरुलाई आफ्ना आवश्यकताका बारेमा जानकारी गराउनुहोस’ उनले भने, ‘सरकारहरुले पनि सबै धर्मलाई बराबर हैसियतमा हेर्नुपर्छ, मठ मन्दिर संरक्षण गर्ने सरकारको नीति रहँदा मस्जीदको पनि महत्व एउटै रहन्छ। ती सबै हामी नेपालीका सम्पत्ति हुन्।’
शुभकामना आदानप्रदानका क्रममा मुस्लिम समुदायका प्रतिनिधिहरुले आफ्नो समुदायका अधिकांशको आर्थिक अवस्था कमजोर रहेकाले उपचार समेत गर्न अवस्था रहेकाले पर्वत अस्पतालले मुस्लिमहरुको उपचारमा कुनै न कुनै तरीकाले सहुलियत दिन अनुरोध गरेका थिए। त्यसबारेमा बोल्दै अध्यक्ष पहाडीले पर्वत अस्पतालमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराउँदै १० हजार रुपैयाँसम्मको उपचारको लागि त्यती समस्या नहुने बताए।





