संजय रेग्मी
साउन १०, २०७८
पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको जिल्लाको नमूना विद्यालय नारायण माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रबाट कक्षा ११ र १२ मा समेत कम्प्युटर विषयको अध्यापन सुरु गरेको छ।
विद्यालयका प्राधानाध्यापक गोविन्द प्रसाद पोखरेलका अनुसार हरेक विद्यार्थीहरुकै मागको आधारमा बिज्ञान र व्यवस्थापन संकायमा कम्प्युटर सैद्धान्तिक र प्रयोगात्मक अध्यापन हुने भएको हो। प्रबिधिको तीब्र विकास भइरहेको तथा धेरै विद्यार्थीहरु आई.टी.को क्षेत्रमा समेत जान चाहेको अवस्थामा विद्यालयले कम्प्युटर विषयको अध्यापन सुरु गरेको उनको भनाई छ।
‘धेरै विद्यार्थीहरुले ११ र १२ मा पनि कम्प्युटरको माग गर्नुभएको छ। हामीले तल्लो तहमा कक्षा ६ देखि १० सम्म त पढाइरहेका छौँ नै, यसले विद्यार्थीहरुलाई नयाँ सुबिधा भएको छ’ उनले भने, ‘फेरि दक्ष जनशक्ति हाम्रै विद्यालयमा रहेको अवस्थामा त्यसको लागि जनशक्ति खोज्न बाहिर जानुपर्ने पनि छैन।’
सदरमुकाममा रहेको विद्यालयले कक्षा ११ र १२ मा कम्प्युटर विषयको अध्यापन सुरु गरेपछि कम्प्युटर विषयको अध्ययनकै लागि पोखरा, काठमाण्डौ लगायतका ठाउँमा जानुपर्ने बाध्यता हटेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तबहादुर सि.के बताउँछन्। स्थापनाकालदेखि जिल्लामै अब्बल नतिजा ल्याउँदै आएको विद्यालयले ११ र १२ मा समेत कम्प्युटर विषयको पढाइ थाल्दा विद्यालयको बिबिधता झनै बढेको उनको भनाई छ।
प्राधानाध्यापक पोखरेलका अनुसार सिमित कोटामा मात्रै कम्प्युटर विषयमा पढाई गर्न थालिएका कारण विज्ञान र व्यवस्थापन संकायमार्फत उक्त विषय अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई समयमा नै भर्ना हुन भनिएको छ। विद्यालयले कक्षा ६ देखि १० सम्म अध्यापन गर्ने कम्प्युटर विषयका लागि सुबिधा सम्पन्न कम्प्युटर ल्याव सञ्चालन गरिरहेको छ।
सूचना तथा सञ्चारका विभिन्न सुबिधा तथा पक्षहरुको प्रयोग गर्दै आइरहेको नारायण माविले त्यसैमा आधारित रहेर कम्प्युटर विषयको पढाई थप गर्नु खुसीको कुरा भएको अभिभावकहरुले बताएका छन्।
बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024