पर्वत : नेपाल शिक्षक कुश्मा नगरपालिकाको सातौँ प्रतिनिधि सभा एवं शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
हरेक वर्ष आयोजना हुने गरेको प्रतिनिधि सभा तथा शिक्षक सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै शनिवार कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल शिक्षक सङ्घ पर्वतका अध्यक्ष यज्ञनाथ बास्तोलाले देशका ४ लाख शिक्षकहरू नै काठमाडौँमा उपस्थित हुन सकेको भएमा शिक्षकहरूको आन्दोलन सफल हुन सक्ने बताउनुभएको छ । साथीहरूले आन्दोलन गरिरहेका छन् भन्ने मान्यता राखेर आफू आन्दोलनमा जाँदा शिक्षकहरूको भएको शक्ति पनि पूर्ण रूपमा प्रदर्शन हुन नसकेको उहाँको भनाई छ । अर्को प्रसङ्गमा बोल्दै उहाँले शिक्षक सङ्घ कुश्मा नगरपालिकाले सङ्घलाई चलायमान गराउनको लागि गरिरहेका कामहरू उदाहरण भएको बताउनुभयो । यस्तै स्थानीय समितिहरूको सक्रियतामा शिक्षकहरूलाई पेसागत विकासका लागि तालिम आयोजना गरिने उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका–९ कटुवाचौपारीका वडाध्यक्ष राम शर्मा लामिछानेले शान्ति र समुन्नत समाजको निर्माणको लागि शिक्षकहरूको सम्मान हुनुपर्ने बताउनुभएको छ । शिक्षकलाई स्थानीय सरकारको मातहतमा राख्ने भनिए पनि सेवा, सुविधा र व्यवस्थापनका काम सङ्घीय सरकारबाटै भइरहेको भन्दै स्थानीय सरकार पनि सङ्घीय सरकारको भर पर्नुपरेको उल्लेख गर्नुभयो । शिक्षकहरूको सरुवा र बढुवा लगायत पेसागत क्षमता अभिवृद्धिका लागि स्थानीय सरकारहरू गम्भीर र प्रतिबद्ध हुनुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा नेपाल शिक्षक सङ्घका सङ्घीय प्रतिनिधि पार्वती उपाध्याय, नेपाल शिक्षक सङ्घ गण्डकी प्रदेशका सदस्य विनोद सुवेदी र मोतीप्रसाद च्वाइँ, शिक्षक सङ्घ पर्वतका सचिव नागेश्वर उपाध्याय, कुश्मा नगर कार्यसमितिका संस्थापक अध्यक्ष बालकृष्ण शर्मा, लगायतले मन्त्ब्य राख्नुभएको थियो ।
नेपाल शिक्षक सङ्घ कुश्मा नगर समितिका अध्यक्ष मिम शर्मा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव इन्द्र प्रसाद अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा कार्यसम्पादनको आधारमा सार्वजनिक माध्यमिक विद्यालय कटुवाचौपारीका शिक्षक मधु पौडेल र बद्री लामिछाने, मंगलोदय माध्यमिक विद्यालयकी शिक्षक इन्दु शर्मा भुसाल, नारायण माध्यमिक विद्यालयका शिक्षक सञ्जय रेग्मी, सूर्यप्रकाश माध्यमिक विद्यालयका शिक्षक इन्द्र प्रसाद अधिकारीलाई सम्मान गरिएको छ ।
उक्त सभामा कार्यसमितिका पदाधिकारीहरुबीच भएको छलफलबाट अर्थ सचिव (कोषाध्यक्ष) कमला पौडेलले पेस गर्नुभएको आर्थिक प्रतिवेदन र अध्यक्ष मिम शर्मा लामिछानेले पेस गर्नुभएको साङ्गठनिक प्रतिवेदन सर्वसम्मतले पारित गरिएको छ ।




