पर्वत : जिल्ला प्रशासन कार्यालय पर्वत तथा जिल्ला प्रहरी कार्यालय पर्वतको सहकार्यमा जिल्ला पर्वतको बिहादी गाउँपालिकामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको वडा नं. ४ स्थित गाउपालिकाको सभाहलमा आयोजना भएको कार्यक्रम गाउँपालिकाका अध्यक्ष परबिन गुरुङको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेल प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा सशस्त्र प्रहरी बल २५ नं गण हेडक्वाटर चण्डिका गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक करण सिंह धामी, जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक विजय यादव, बिहादी गाउँपालिका वडा नं. १ र ५ का वडा जनप्रतिनिधिहरु, समाजसेवी, युवा क्लव, आमा समुह तथा स्थानिय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा समाजसेवी मोती सुवेदी लगायतका वक्ताहरुको नागरिकता प्रमाणपत्र र जन्म दर्ता प्राप्त हुनु सहजता हुनुपर्ने तथा समाजमा बढ्दो साइवर अपराध न्यूनीकरणको बारेमा गुनासो तथा जिज्ञासा राख्नु भएको थियो । सोही विषयमा प्रहरी नायव उपरीक्षक विजय यादवले ग्रामीण भेगमा ग्रामीण गस्ती परिचालन गरिएको, समाजमा हुने सामाजिक विकृतिको समयमै सूचनाको अपेक्ष राख्नुभई प्रहरी र नागरिकको सहकार्यले अपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्न सकिने भन्दै चालु आर्थिक वर्षमा भए गरेका अपराधिक गतिविधि र न्यूनीकरणको बारेमा प्रस्तुती राख्नुभयो ।
सशस्त्र प्रहरी बल २५ नं गण हेडक्वाटर चण्डिका गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक करण सिंह धामीले विपद् जन्य उद्दार कार्यमा नागरिकसँगको सहकार्यका बारेमा बोल्नुभयो । प्रमुख अतिथि जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले नागरिकता प्रमाणपत्र तथा जन्म दर्ताको हकहितलाई मध्यनजर गरी सहजता पूर्वक कार्य सम्पादन हुनुका साथै जिल्लाको शान्ति सुरक्षाको बिषयमा नागरिक मैत्री व्यवहार पूर्णरुपमा कार्यन्वय हुने भन्दै उठेक जिज्ञासालाई उचित सम्बोधन गर्नुभयो ।
अन्त्यमा गाउँपालिकाको अध्यक्ष प्रविन गुरुङले आगामी दिनहरुमा समेत यसता सचेतनामुलक कार्यक्रमहरूको अपेक्ष उपस्थित सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद दिनुभई कार्यक्रमको समापन गर्नुभएको थियो ।




