पर्वत : विभिन्न सामाजिक कामहरूमा सक्रिय रहँदै आएको पर्वत जेसीजको ३० औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा केही समय अगाडि भएको अधिवेशनबाट सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ खुवाएर पद हस्तान्तरण गरिएको हो । केही समय अगाडि भएको सर्वसम्मत अधिवेशनबाट अध्यक्षमा शर्मिला शर्मा कार्यकारिणी उपाध्यक्षमा अजय पोख्रेल र पार्वती पौडेल (सपना), कानुनी सल्लाहकारमा सुरज श्रेष्ठ, महासचिवमा रामचन्द्र सुवेदी, कोषाध्यक्षमा प्रवेश राज पुरी, तालिम निर्देशकमा बेबिना श्रेष्ठ कर्माचार्य, शाखा सम्पादकमा वसन्त बास्तोला, उपाध्यक्षमा अन्जोल कर्माचार्य, बिजन श्रेष्ठ, पदमलाल गौतम र मुकुन्द गौतम चयान हुनुभएको थियो । यस्तै निर्देशकमा पवन श्रेष्ठ र युनिक थापा, सहसचिवमा अर्जुनराज पुरी, सह कोषाध्यक्षमा अश्विन सुवेदी तथा सह शाखा सम्पादकमा लक्ष्मण बि.सी सर्वसम्मत हुनुभएको थियो ।
गत शुक्रवार कुश्मामा आयोजना भएको पदस्थापन तथा पुरस्कार वितरण समारोहमा वर्ष २०२५ का अध्यक्ष अच्युत पौडेलले वर्ष २०२६ की अध्यक्ष शर्मिला शर्मालाई शपथ खुवाउँदै ‘प्रेसिडेन्सियल चेन’ लगाइदिएर आफ्नो जिम्मेवारी हस्तान्तरण गर्नुभयो । अध्यक्ष शर्माले नयाँ बनेको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ खुवाएर आगामी एक वर्ष उत्साहजनक रूपमा काम गर्ने बताउनुभएको छ । युवाहरूको नेतृत्व गर्ने संस्थाको जिम्मेवारी आफ्नो काँधमा आएपछि सक्रियताका साथ काम गरेर युवाहरूको नेतृत्व सीप विकाससँगै समाज सेवाका विभिन्न पक्षमा काम गर्ने उहाँको भनाइ छ । ‘शासन व्यक्तिको होइन, विधिको हुनुपर्दछ’ भन्ने मूल नारा बोकेको संस्थाले विधि बसाल्ने अभ्यासका लागि युवाहरूलाई सकेसम्म परिचालन गर्ने अध्यक्ष शर्माले बताउनुभयो ।
कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष पौडेलले आफूले एक वर्षको अवधिमा गरेका कामहरूको बारेमा जानकारी गराउँदै आफ्नो कार्यकालमा सहयोग गर्नेहरूप्रति आभार व्यक्त गर्नुभयो । ‘सीप र सम्भावना ः नयाँ युगको सुरुवात’ भन्ने मर्मका साथ आफ्नो कार्यकालमा विभिन्न कार्यक्रमहरू गरिएको अब पनि रचनात्मक कामहरू गर्नको लागि आफूले कसरत गरिरहने उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले सामाजिक सेवा तथा युवाहरूको नेतृत्व र क्षमता विकासमा जेसीजले गर्दै आएका कामहरूको प्रशंसा गर्नुभयो । स्वतःस्फूर्त रूपमा सामाजिक भावनाका साथ जोडिएका क्रियाशील युवाहरूको भूमिकाले सामाजिक सहकार्य र एकतामा महत्त्वपूर्ण योगदान गरिरहेको उहाँको भनाई छ । जेसीजका कामहरूबाट आफू प्रभावित रहेको भन्दै नगर प्रमुख तिवारीले आगामी दिनमा आफू जेसीजसँगको सहकार्यमा सामाजिक कार्य गर्नका लागि तयार रहेको बताउनुभयो ।
पर्वत जेसीजको ३० औँ पदस्थापन सम्पन्न, २०२६ को कार्यभार शर्मालाई
पुस २८, २०८२




