अमेरिका : अमेरिकास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनसिसी यूएसए) ले आफ्नो संस्थागत लोगो अन्तर्राष्ट्रिय मान्यता प्राप्त ट्रेडमार्क प्रणालीअन्तर्गत दर्ता भएको जनाएको छ ।
संस्थाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, “एनआरएनए एनसिसी यूएसए” नाममा रहेको लोगो औपचारिक रूपमा ट्रेडमार्क दर्ता भएसँगै यसको कानुनी स्वामित्व संस्थामा सुरक्षित भएको हो ।
निलो घेराभित्र हिमाल र उदाउँदो सूर्य अंकित लोगो अब अमेरिकाको “यूएसपीटीओ ट्रेडमार्क एटलस” मा सूचीकृत रहेको विज्ञप्तिमा उल्लेख छ । संस्थाका अनुसार यसले लोगोको आधिकारिक प्रयोग, पहिचान तथा संरक्षणलाई अन्तर्राष्ट्रिय स्तरमा थप मजबुत बनाउने विश्वास लिइएको छ ।
ट्रेडमार्क दर्ता प्रक्रियालाई सफल बनाउन वरिष्ठ उपाध्यक्ष सन्तोष पहारी, उपाध्यक्ष सुरेन्द्र लोहडी, कोषाध्यक्ष रवीन्द्र उप्रेती, पूर्व कोषाध्यक्ष राजीव श्रेष्ठ तथा समाजसेवी माधव मरासिनीले महत्वपूर्ण भूमिका निर्वाह गरेको संस्थाले जनाएको छ ।
प्रवक्ता सन्देश उप्रेतीद्वारा जारी विज्ञप्तिमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिएको छ ।
एनआरएनए एनसिसी युएसएको लोगो अन्तर्राष्ट्रिय रूपमा दर्ता
जेष्ठ २, २०८३




